गीतकार शिवशंकर थापाद्वारा रचित गीतहरुको एकल गीतिसाँझ सम्पन्न
आज विर्तामोडमा विशिष्ट गीतकार शिवशंकर थापाद्वारा रचित गीतहरुको एकल प्रस्तुति कार्यक्रम सम्पन्न भएको छ । 'एकमुटु अनेक ढुकढुकी' नाम दिइएको सो कार्यक्रम पूर्वान्चल कलाकार समाजको आयोजनामा सम्पन्न भएको थियो भने यसको संयोजन गायिका मोनिका चुडालद्वारा गरिएको थियो । पूर्वान्चल कलाकार समाजका अध्यक्ष कृष्ण योन्जनको सभाध्यक्षता तथा विशिष्ट गीतकार शिवशंकर थापाको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमको सन्चालन सुनिता तामाङ्गद्वारा गरिएको थियो । विगत ६० वर्ष देखि निरन्तर गीत लेखनका क्षेत्रमा लागिरहनुभएका शिवशंकर थापालाई सम्मान समेत गरिएको सो कार्यक्रममा थापाद्वारा लेखिएका पन्ध्रवटा गीतहरु ख्यातिप्राप्त गायक बलराम समाल, गायक युवराज पोर्तेल, गायिका मेनुका चुडाल, गायिका हेमा भण्डारी, गायक मनिल राईद्वारा गाइएको थियो । आदर्श व्याङ्क्वेट बिर्तामोडको सभाहलमा भरिभराउ दर्शकहरुको माझ गीतकार थापाका गीतहरु गाइएको थियो । गायक गायिकाहरुले गाउनु पूर्व आफ्ना युवा तथा प्रौढ उमेरमा सो गीत लेखनका समयका रमाइला प्रसङ्गहरुलाई उत्साहित अनि भावुक बन्दै गीतकार थापाले सम्झिएपछि ती गीतहरु गाइएका थिए ।
