चौतारीले भदौ २९ गते संस्थागत अभिनन्दन तथा सम्मान गर्दै

दिलिप घिमिरे · भदौ २७, २०८१ ७:१८ PM
Cover Image for News

 चौतारीले भदौ २९ गते संस्थागत अभिनन्दन तथा सम्मान गर्दै
 बिर्तामोड । साहित्य चौतारी झापा नेपालले आगामी भदौ २९ गते भारतका विभिन्न प्रान्तमा रहेका साहित्यिक संघ संस्थाहरुलाई संस्थागत अभिनन्दन तथा सम्मान गर्ने भएको छ । साहित्य चौतारी झापाका संस्थापक, संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षतामा भएको बैठकले यस्तो निर्णय गरेको हो ।
 संस्थाले पहिलोपटक भारतका विभिन्न प्रान्तमा रहेर नेपाली भाषा, साहित्य, कला, संस्कृतिमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका साहित्यिक संघ संस्थाहरुलाई संस्थागत अभिनन्दन तथा सम्मान गरिने भएको साहित्य चौतारी झापाका संस्थापक संरक्षक तथा अध्यक्ष देवीभक्त श्रेष्ठले जानकारी दिए ।
 नेपाल र भारतका विभिन्न श्रष्टाहरुलाई रथारोहण, अभिनन्दन, सम्मान गर्दै आएको साहित्य चौतारीले रजत वर्ष अभियान अन्तरगत संस्थागत अभिनन्दन तथा सम्मानले ती संस्थाहरुको योगदानको समेत कदर हुने बताउँदै उनले ती संस्थाहरुको क्रियाशीलता अझै बढ्ने जनाए ।
 साहित्य चौतारीले संस्थागत अभिनन्दन तथा सम्मान गर्नका लागि मापदण्ड तय गर्दै अध्ययन समिति गठन गरिएको र समितिले ज्येष्ठता, वैधानिकता, निरन्तरता, प्रमुख लक्ष्य, समावेशी लगायतका मापदण्ड तय गरि संस्थागत सम्मानका लागि संस्थाहरुको छनौट गरिने उनले बताए । 
     स्थापनाको २० वर्षभन्दा ढी क्रियाशील रहेका साहित्यिक संघसंस्थाहरुलाई नगद अक्षयकोषद्वारा संस्थागत अभिनन्दन गरिने तथा १० वर्षभन्दा बढी क्रियाशील रहेका साहित्यिक संघसंस्थाहरुलाई सम्मान गरिने उनले बताए ।  अक्षयकोष विधिपूर्वक सञ्चालनका लागि संस्थाका अन्तर्राष्ट्रिय प्रतिनिधि र संस्थाका प्रतिनिधिबीचको संयुक्त माइन्युट र खाता सञ्चालन गरिने र जुन देश र स्थानमा कार्यक्रम गरिन्छ त्यो देशका प्रचलित नियम र कानूनअनुसार हुने उनले बताए । 
आगामी भदौ २९ गते बिर्तामोडमा साहित्य चौतारीको सभाहलमा हुने कार्यक्रममा भारत दार्जीलिङका गोर्खा दुःख निवारक सम्मेलन, नेपाली साहित्यिक सम्मेलन, हिमालय कला मन्दिर, खर्साङका गोर्खा जनक पुस्तकालय, जागृति परिवार, गोर्खा संस्कृतिक संस्थान, सिलगढीका सिलगढी देवकोटा संघ, सिलगढी भानुभक्त समिति, आश्रामपाडा नेपाली शिव मन्दिर समिति, नेपाली साहित्य प्रचार समिति, मतिगडा गोर्खा कल्याण संघ, गान्तोकको सिक्किम साहित्य परिषद्, गेजिङका पश्चिम सिक्किम साहित्य प्रकाशन, कालेङपुङका नेपाली साहित्य अध्ययन समिति, आसामका आसाम नेपाली साहित्य सभा, मणिपुरका मणिपुर नेपाली साहित्य परिषद्, डुबर्सको डुबर्स नेपाली साहित्य परिषद, सिलङको  सिलोङ नेपाली साहित्य परिषद्, सलुवाको अगमसिंह गिरि संस्थान, मिरिकको चिमल क्लब परिवार, मिरिक साहित्य सुनौ परिवारको सहभागिता रहने र ति संस्थाहरुमध्येबाट मापदण्डको आधारमा संस्थागत अभिनन्दन तथा सम्मान गरिने उनले बताए । 
आगामी भदौ २९ गते हुने कार्यक्रमको संयोजकमा संस्थाका उपाध्यक्ष हिम्मत नेम्बाङ रहने र संस्थागत अभिनन्दन तथा सम्मान कार्यक्रमको प्रमुख अतिथिमा असम नेपाली साहित्य सभाका वर्तमान सभापति  दुर्गा खतिवडा रहने उनले बताए । 
आगामी भदौ २९ गते हुने संस्थागत अभिनन्दन तथा सम्मान कार्यक्रममा भारतका विभिन्न प्रान्तसहित भुटान र बर्माका साहित्यिक संघसंस्थाहरुको  समेत संस्थागत सहभागिता रहने संस्थाका भारतवर्षका संयोजक डीएल (देवीलाल) प्रधानले आफूलाई जानकारी गराएको अध्यक्ष श्रेष्ठले बताए । 
त्यस्तै संस्थाले आगामी भदौ २९ गते राष्ट्रिय बाल दिवस तथा मोती जयन्तीको अवसर पारेर एक घण्टा अर्थात बिहान १० बजेदेखि बालदिवस केन्द्रित कार्यक्रम गरिने बैठकले निर्णय गरेको छ।

ट्यागहरू:
साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू