युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती मनाउँदै
झापा २६ भाद्र/नेपाली साहित्यका माध्यमिक कालका प्रवर्तक तथा राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १६१औँ जन्मजयन्ती आज देशभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।
कहाँसम्मको आँट लौ हेर तिन्को
रिसाएर आँखा पनि तर्न लागे
एकै पल्ट आँखा घुमाई दिनाले
कति मर्न लागे कति डर्न लागे।
विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन काठमाडौँको भोसिंकोटमा जन्मिएका भट्टको विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको अल्पायुमा निधन भएको थियो ।
अल्पायुमै निधन भए पनि भट्टले नेपाली साहित्यको श्रीवृद्धि, पत्रकारिताको सुरुआत र मुद्रण प्रविधिको विकासमा ऐतिहासिक योगदान पुर्याएका छन् ।
उनले आदिकवि भानुभक्त आचार्यले रचना गरेको ‘रामायण’ पहिलोपटक पाण्डुलिपि खोजेर प्रकाशनमा ल्याउनुका साथै भानुभक्तको जीवनीसमेत लेखेर नेपाली भाषा साहित्यलाई ठुलो योगदान दिएका थिए ।
यसै गरी, नेपालमा भारतबाट छापाखाना (भारतजीवन प्रेस) भित्र्याएर नेपाली पत्रकारिता र साहित्यको व्यावसायिक प्रकाशन सुरुआत गर्ने श्रेय पनि मोतीराम भट्टलाई नै जान्छ। उनकै प्रयासका कारण नेपाली साहित्यमा शृङ्गारिक धारा, गजल गायकी र नाट्य लेखनको लहर चलेको थियो ।
युवाकवि भट्टको १६१औँ जन्मजयन्तीका अवसरमा आज नेपाल प्रज्ञा-प्रतिष्ठान, नेपाली शिक्षा परिषद्लगायतका विभिन्न साहित्यिक सङ्घ-संस्थाहरूले विविध कार्यक्रम आयोजना गरेका छन् ।
नेपाली शिक्षा परिषद्का अध्यक्ष रमा शर्माका अनुसार परिषद्को आयोजनामा आज दिउँसो २:०० बजे विशेष कवि सम्मेलनका साथै नेपाली साहित्यका क्षेत्रमा योगदान पुर्याउने युवा सर्जकलाई ‘युवा वर्ष मोती पुरस्कार’ प्रदान गर्ने कार्यक्रम रहेको छ। देशका अन्य भागहरूमा पनि काव्य गोष्ठी तथा विचार मन्थन गरी युवाकवि मोतीराम भट्टको स्मरण गरिँदै छ ।
अचल झन्डा फर्कोस् फरफर गरी कान्तिपुरीमा
रिपुको मन थर्कोस् थरथर गरी छण घरीमा यावन्तले राज गर्दा कति पतित हिन्दूस्थल भयो फगत यो नेपालको मुलुक बची कञ्चन रही गयो।