"व्यथित काव्य सम्मान" द्वारा ४ कवि सम्मानित हुने
२०८२ फागुन २५, झापा ।
साहित्यिक पत्रकार संघले ४ कविलाई "व्यथित काव्य सम्मान" प्रदान गर्ने भएको छ ।
कविहरु विमला तुम्खेवा र मीनकुमार नवोदित "व्यथित काव्य सम्मान २०८२"बाट समानित हुने भएका छन् । यसैगरी संघले "व्यथित काव्य डायसपोरा सम्मान २०८२"बाट कविहरु लालगोपाल सुवेदी र दीपा राई पुन (अमेरिका)लाई सम्मानित गर्ने जनाइएको छ । वरिष्ठ कवि एवं समालोचक प्रमोद प्रधानको संयोजनमा साहित्यकारहरु श्रीओम श्रेष्ठ "रोदन" र नरेन्द्रबहादुर श्रेष्ठ सदस्य रहेको सिफारिस समितिको सिफारिसमा संस्थाका अध्यक्ष राधेश्याम लेकालीको अध्यक्षतामा बसेको कार्यसमितिले सो निर्णय गरेको हो ।
कवि बिमला तुम्खेवाका - बिमला तुम्खेवाका कविताहरु (२०५५), नदि छाल र तरङ्गहरु (२०६०), संस्मरण एउटा बूढो रुखको (२०६५) र हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे (२०७०) लगायत कृतिहरु प्रकाशित छन् । कवि मीनकुमार नवोदितका फूलबारीभित्रका भमराहरु (२०५७), झरीले रुझेको गाउँ (२०७०) र समयको बयान (२०७८)कवितासङ्ग्रहहरुलगायत आधा दर्जन कृतिहरु प्रकाशित छन् ।
कवि लालगोपाल सुवेदीका फूलको देशमा, छायालाई माया नगर्नुहोस्, अग्नि आतङ्क, बिक्रीमा पृथ्वी, पानी, योगमाया र इन्द्रेनी, सबाल्टर्न पात कवितासङ्ग्रहहरु लगायत दर्जन बढी कृतिहरु प्रकाशित छन् । कवि दीपा राई पुनको तिम्रो सपनाको म (२०६८), स्पन्दनका रागहरू (२०७०), छुटेको बागदाता (२०७२), दियोको अन्तिम लप्का र शरदका पहेला पातहरू (२०७८) र प्रतिरूप (गीति एल्बम २०७४) लगायतका कृतिहरु प्रकाशित छन् ।
वि. स. २०३९ मा स्थापना गरिएको व्यथित काव्य पुरस्कार नेपाली साहित्य जगतका प्रतिभाशाली कविलाई साहित्यिक पत्रकार सङ्घबाट प्रदान गर्ने गरिन्छ । यस पुरस्कारबाट यसअघि कविहरू दिनेश अधिकारी, जीवन आचार्य, घनश्याम कँडेल, मेघराज मन्जुल, उषा शेरचन, गणेश विषम, तोया गुरुङ, प्रमोद प्रधान, पूर्ण विराम, विजय बजिमय, मन्जु काँचुली, नरेन्द्रबहादुर श्रेष्ठ, कुन्ता शर्मा, बुँद राना, नवराज कार्की, विश्वविमोहन श्रेष्ठ, कृष्ण बाउसे, दुबसु क्षेत्री, महेश प्रसाई, मोहन दुवाल, कृष्ण जोशी, डा. राममान तृषित, विमल निभा, नरेश शाक्य, मधुसूदन गिरी, अनिलकुमार अनल, वसन्त श्रेष्ठ, ज्ञानेन्द्र गदाल, बाबा बस्नेत, राजेन्द्र शलभ, धीरेन्द्र प्रेमर्षि, शशी थापा, डा. दामोदर पुडासैनी, सन्ध्या पहाडी, शेखर ढुङ्गेल, उदय निरौला, श्रवण मुकारुङ, रमेश श्रेष्ठ, कृसु क्षेत्री, मोमिला जोशी, गीता कार्की र ठाकुर बेलबासे सम्मानित भइसक्नु भएको छ ।
यसैगरी "व्यथित काव्य डायस्पोरा सम्मान"बाट कविहरू हेमन्त श्रेष्ठ (अमेरिका), गोवर्धन पूजा (अमेरिका), भीमसेन सापकोटा (अस्ट्रेलिया), प्रकाश पौडेल माइला (जापान), जगत नवोदित (बेलायत) र शकुन ज्ञवाली (अमेरिका) र खेमनाथ दाहाल सम्मानित भइसक्नु भएको छ ।