रेखा- पवन स्रष्टा सम्मान नगेन्द्रराज शर्मा तथा रोचक घिमिरेलाई अर्पण
झापा, फागुन २५ । नेपाल स्रष्टा समाजले प्रदान गर्ने भनिएको यस वर्षको रेखा- पवन स्रष्टा सम्मान फागुन २४ गते आइतबार प्रदान गरिएको छ । एक लाख एक सय एक रुपैयाँँ राशिको सो सम्मान वरिष्ठ साहित्यिक पत्रकारद्वय नगेन्द्रराज शर्मा तथा रोचक घिमिरेलाई अर्पण गरिएको हो ।
स्रष्टा पवन आलोक+रेखा कँडेलका छोराछोरी र बुहारीसहित ५ जना सन्तानले राखेको अक्षयकोषबाट वितरण हुने गरेको सो सम्मान/पुरस्कार वितरण कार्यक्रममा समाजका महासचिव प्रकाश घायलले स्वागत मन्तव्य राख्नुभएको थियो । संस्थाका अध्यक्ष श्रीओम श्रेष्ठ रोदन सभापति रहनु भएको कार्यक्रममा पवन -रेखाको ५७ औं विवाह उत्सव समेत मनाइएको थियो ।
सम्मानित दुई स्रष्टा बारे समालोचक प्रमोद प्रधानले विस्तृत परिचय राख्नु भएको थियो ।
समाजका सल्लाहकारहरू प्रा डा लक्ष्मणप्रसाद गौतम, अशेष मल्ल, प्राडा गोविन्दराज भट्टराईले शुभकामना मन्तव्य राख्नुभएको थियोे भने सम्मानित दुई स्रष्टाले आफूहरूले गरेको काम सम्झेर दिइएको यो सम्मानका लागि आभार व्यक्त गर्नु भएको थियो ।
कँडेल दम्पतिकी माइली छोरी रीता केसी बस्नेतले यो सम्मान स्थापना गर्नुको कारणबारे बताउनुभएको थियो भने पुरस्कार संस्थापक पवन आलोकले धन्यवाद ब्यक्त गर्नुभएको थियो । कार्यक्रम सञ्चालक मधु पाठकका अनुसार उक्त सम्मान गत वर्ष गीतकार कालीप्रसाद रिजाललाई प्रदान गरिएको थियो ।