पुष्पराज जोशी र लीलाराज कार्कीले फ्राङ्कफर्ट पुस्तक मेलामा नेपालको प्रतिनिधित्व गरे

खगिन्द्रा खुसी · असोज २६, २०८३ २:०२ PM
Cover Image for News

२६ असोज,झापा । अक्टोबर ७ देखि ११ सम्म जर्मनीमा आयोजित फ्राङ्कफर्ट पुस्तक मेलामा  नेपाली लेखकद्वय पुष्पराज जोशी र लीलाराज कार्कीले नेपालको प्रतिनिधित्व गर्नुभएकाे छ । विश्वकै प्रमुख मानिने उक्त पुस्तक मेलामा  लेखक द्वयले आफ्ना कृतिबाट अंशवाचन गर्नुभएको थियो । 

मेलाको अन्तिम दिन अक्टोबर ११ मा फ्राङ्कफर्ट नगरको विदेशी नागरिक सल्लाहकार परिषद्ले आयोजना गरेको कार्यक्रममा जोशीले आफ्नो बालकृति ‘द क्लु क्याचर्स’ र कार्कीले कविता सङ्ग्रह ‘क्षितिज पारिको बस्ती’ बाट अंशवाचन गर्नुभएको हो । कार्यक्रममा नेपाली लेखकहरूको सहभागिताको समन्वय फ्राङ्कफर्टस्थित सामाजिक संस्था नेपाली समाजले गरेको थियो ।

आयोजकका अनुसार यस वर्षको पुस्तक मेलामा विश्वभरबाट करिब दुई लाख ३६ हजार दर्शक सहभागी हुनुभएकाे थियाे । मेलामा १३७ देशका चार हजार प्रदर्शक सहभागी हुनुका साथै तीन हजार आठ सयभन्दा बढी कार्यक्रम आयोजना गरिएका थिए ।

काठमाडौंस्थित बियोन्ड स्टोरिज प्रकाशनबाट प्रकाशित पुष्पराज जोशीको ‘द क्लु क्याचर्स : एउटा विशेष खोजी टोली’ बालबालिकाका लागि लेखिएको रहस्यप्रधान पुस्तक हो । यसमा आठ वर्षीया रेबेका र उनका बुबा जोनाथनले छिमेकमा घट्ने असामान्य घटनाको अनुसन्धान गर्दै रहस्य सुल्झाएका चार कथा समेटिएका छन् ।

जिज्ञासा, सूक्ष्म अवलोकन, तार्किक चिन्तन र सहकार्यमा आधारित पुस्तकले बालबालिकालाई प्रश्न गर्न, सङ्केतहरू पहिल्याउन र समस्याको समाधान खोज्न प्रेरित गर्छ । कथामा प्रकृति, जनावर र सामान्य न्यायवैज्ञानिक विज्ञानसम्बन्धी विषयसमेत समेटिएका छन् ।

लीलाराज कार्कीको ‘क्षितिज पारिको बस्ती’ समकालीन विषयवस्तुमा आधारित कविता सङ्ग्रह हो । यसमा मातृभूमि, सम्झना, आकाङ्क्षा र जीवनका अनुभवलाई कवितात्मक अभिव्यक्ति दिइएको छ ।

मेलाको कार्यक्रममा कार्कीले सङ्ग्रहमा समावेश ‘समय बलवान्’ कविता वाचन गर्नुभएकाे थियाे । जर्मनी आगमन र समयक्रमसँगै विकसित जीवनपरिस्थितिका कारण आफ्नो जन्मभूमिबाट टाढा रहनुपरेको अनुभव कवितामा व्यक्त गरिएको छ । उहाँले कविता नेपाली भाषामा वाचन गरेपछि त्यसको भाव र मूल सन्देश जर्मन भाषामा समेत व्याख्या गर्नुभएकाे थियाे ।

फ्राङ्कफर्ट पुस्तक मेलामा नेपाली लेखकहरूको सहभागिताले नेपाली साहित्यका विविध विधा र सिर्जनालाई अन्तर्राष्ट्रिय पाठकसमक्ष प्रस्तुत गर्ने अवसर दिएको छ । बालसाहित्य र समकालीन कविताका माध्यमबाट नेपाली लेखकहरूले विश्वको प्रमुख प्रकाशन मञ्चमा आफ्नो सिर्जनात्मक उपस्थिति जनाउनु नेपाली साहित्यको अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्ने दिशामा महत्त्वपूर्ण पहल हो ।

 

ट्यागहरू:
samachar puraskar nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।