चन्द्रागिरीमा काव्य वर्षा तथा साहित्यिक अन्तर्क्रिया सम्पन्न

खगिन्द्रा खुसी · असोज १८, २०८१ ८:५३ AM
Cover Image for News

२०८१ असोज १४, काठमाडौं ।

नेपाल स्रष्टा समाजको आयोजना तथा चन्द्रागिरी नगरपालिकाको सहआयोजनामा त्रीदेशीय साहित्यिक अन्तरक्रिया तथा विशेष कवि गोष्ठी असोज १४ गते आइतबार सम्पन्न भएको छ । समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको अध्यक्षता तथा चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रमा प्रमुख अतिथि अर्यालले नेपाल र बंगलादेशबीच उस्तै सँस्कृति, उस्तै साहित्य र भाषा पनि झण्डै उस्तै रहेको बताउँदै यस्ता साहित्यिक अनुभव आदानप्रदान कार्यक्रमले भाषा, साहित्यको विकासमा महत्वपूर्ण टेवा दिने बताए । उनले पहिले बंगालदेशी साथीसँग टोकियो विश्वविद्यालय पढ्दाका अनुभवहरुका साथमा बंगाली गीतसमेत गाएर सुनाएका थिए भने नव निर्वाचित स्रष्टा समाजका पदाधिकारीहरुलाई सफल कार्यकालको निम्ति बधाई दिंदै गजलसमेत सुनाएका थिए । 

फोटो
बंगलादेश नेपाल फ्रेण्डसीप सोसाइटीका अध्यक्ष लायन मसुर मोहमदले आफूहरु दुबै देशको भाषासाहित्यको विकासमा लागि परेको बताउँदै दुई देशबीचको भाषा, साहित्य र संस्कृति आदानप्रदान गर्न अझ प्रभावकारी रुपमा लाग्ने जानकारी दिए । साथै सुन्दर चन्द्रागिरीलाई बंगलादेशमा रहेको निलगिरीसँग तुलना गरे । धार्मिक, ऐतिहासिक, साँस्कृतिक र प्राकृतिक रुपमा दुबै पवित्र र सुन्दर रहेको बताए। निम्तोको लागि नेपाल स्रष्टा समाजलाई उनले धन्यवाद दिए । 

अर्का वक्ता समालोचक प्रा.डा. लक्ष्मण गौतमले समकालीन नेपाली साहित्यको वर्तमान अवस्थाको बारेमा चर्चा गरेका थिए । उनले कथा, कविता, निबन्धलगायत साहित्यका सबै विधाको अन्तर विषयको प्रभावको बारेमा जानकारी दिए । अघिल्लो लेखकले लेखेको कृतिमाथि टेकेर नयाँ सिर्जना आउन थालेको उनले बताए । अहिले चलचित्रसँग साहित्य जोडिएर आएको जानकारी दिए भने वर्तमान साहित्य बहुआयामिक भएको चर्चा गर्दै डा. गौतमले वर्तमान नेपाली साहित्य राजनीतिक विकृति विरुद्ध लेखिएको आफूले पाएको बताए । नेपाली साहित्य विश्वस्तरमा नपुग्नाको कारण अनुवादकको अभाव भ्एको पनि उनले बताए । 

       पूर्व बंगलादेशका राजदूत लेखक तथा अनुवादक मसुर मनारले बंगलादेशी साहित्य र बंगलादेशी डायस्पोरा साहित्यको बारेमा जानकारी दिंदै नेपालभन्दा धेरै गुणा जनसँख्या भएको बंगलादेश र त्यहाँका बेलायतमा बस्नेहरुले लेख्ने डायस्पोरा साहित्यको चर्चासमेत गरे । उनले मन्तव्यको क्रममा विभिन्न चर्चित बंगलादेशी साहित्यकारहरु बारे समेत जानकारी दिँदै उनले बेंगाली कवि रविन्द्रनाथ टैगोरको कविता सुनाए । 

फोटो
       अर्का वक्ता वरिष्ठ समालोचक एंव अनुवादक प्रा.डा. गोविन्दराज भट्टराईले बंगाली भाषा साहित्यको बारेमा आफ्नो धारणा राख्दै नेपाली र बंगालीको लिपी मात्र फरक भएको बताए । बंगाली कवि रविन्द्रनाथ टैगोरको योगदान र उनका कृतिहरुको चर्चासमेत गर्दै तिनको नेपाली अनुवादको बारेमा पनि आफ्नो धारणा राखे । बाल्मिकी रामायणको बंगालीमा अनुवाद भएको धेरै वर्षपछि मात्र रामायण नेपाली भाषामा अनुवाद भएको तथ्य जानकारी दिए । प्रा.डा.भट्टराईले दार्जिलिगका कुमार प्रधानको उदाहरण दिंदै उनले नेपाली साहित्यलाई बंगाली भाषामा अनुवाद गरेको तथ्य प्रस्तुत गरे । भट्टराईको चर्चित उपन्यास मुगलानसमेत बाङ्लाभाषामा अनुवादरहेको पनि उनले बताए ।
 
चन्द्रागिरी नगरपालिका वडा नं ८ का अध्यक्ष प्रल्हाद रिजालले शुभकामना मन्तव्य राख्दै साहित्यको माध्यमले समाजलाई जागरुक बनाउन सकिने भएकोले समाजमा नेतृत्व गर्ने राजनीतिले भएपनि यसलाई सही मार्गमा डोर्‍याउने भनेको विद्वान् साहित्यकारले गर्न सक्ने बताए । 

कार्यक्रममा विशेष काव्य वाचन गरिएको थियो । वरिष्ठ कविहरु विश्वविमोहन श्रेष्ठ, डा. नवराज लम्साल, राधेश्याम लेकाली र विधान आचार्यले आआफ्नो कविता वाचन गरे भने कविहरु रुद्र ज्ञवाली, प्रदीप सापकोटा, रुद्र अधिकारी, रविन्द्र आशिष शैली, देविका तिमल्सिना, मधु पाठक, डा. सदानन्द कंडेल, तारा सुवेदी, रञ्जना निरौला, डा.शान्तिमाया गिरी, देवकी तिमल्सिना, माधव विँडारी लगायतले आआफ्ना कविता वाचन गरेका थिए ।

कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले आगामी दिनमा स्रष्टा समाज भाषा साहित्यको क्षेत्रमा अझै अगाडि बढ्ने तयारीमा रहेको बताए । उनले मौसमको प्रतिकुलताको कारण मित्रराष्ट्र भारतबाट स्रष्टाहरु आएर बीचबाटै फर्कनु परेको अवस्थाको समेत जानकारी गराएको समाचार काठमाडौँबाट साहित्यिक पत्रकार महासंघका अध्यक्ष राधेश्याम लेकालीद्वारा प्राप्त भएको छ ।

ट्यागहरू:
literature news samachar svikarokti
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू