अन्तर्राष्ट्रिय नेपाली गीतकार संघद्वारा चर्चित गीतकार दिनेश अधिकारी, यशोदा पराजुली र पुरु लम्साल सहित सात स्रष्टा सम्मानित हुने
झापा, माघ १९ । अन्तर्राष्ट्रिय नेपाली गीतकार संघ (INLA)को दोस्रो महाधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलन अमेरिकाको पेन्सल्भेनियास्थित ल्यांकास्टरमा सम्पन्न हुने भएको छ । आगामी मार्च २९, २०२६ मा सम्पन्न हुने उक्त कार्यक्रम स्थानीय साहित्यिक संस्था ‘साहित्य कला संगम’ सँगको संयोजन र व्यवस्थापनमा हुने भएको छ भने सम्मेलनमा संघको साङ्गठनिक गतिविधिमाथि छलफल हुनुका साथै विविध साहित्यिक तथा सांगीतिक कार्यक्रमहरू प्रस्तुत गरिनेछ ।
सो कार्यक्रममा प्रदान गरिने यस वर्षको ‘INLA ज्ञानेन्द्र गदाल गीत सम्मान’ विशिष्ट कवि तथा लोकप्रिय गीतकार दिनेश अधिकारीलाई अर्पण गरिने भएको छ । अधिकारी यस सम्मानबाट सम्मानित हुने दोस्रो व्यक्तित्व हुनुहुन्छ । यसअघि पहिलो पटक यो सम्मान ख्यातिप्राप्त गीतकार तथा कलाकार नीर शाहलाई प्रदान गरिएको थियो । यो सम्मानको राशि १,००१ अमेरिकी डलर रहेको छ ।
सम्मेलनमा नेपाल र प्रवासमा रहेर नेपाली संगीतमा उल्लेखनीय योगदान पुर्याउने अन्य ६ जना सर्जकहरूलाई जनही ५०० अमेरिकी डलर र सम्मानपत्र प्रदान गरिने संघका अध्यक्ष डा. हरि उप्रेतीले जानकारी दिनुभएको छ । सम्मानित हुने सर्जकहरूमा गीत लेखनमा नेपालबाट पुरु लम्साल र प्रवासबाट साबू गदाल कार्की, सङ्गीत सिर्जनामा नेपालबाट तृप्ति खड्का नेपाल र प्रवासबाट अगम गुरुङ, गायनमा नेपालबाट यशोदा पराजुली र प्रवासबाट डम्बर खापुङ सुब्बा रहेका छन् ।