अमेरिकाको 'सङ्गालो' कथावाचन कार्यक्रममा जीइपी(GEP)का चार विद्यार्थी उत्कृष्ट
२५ भदौ, झापा । अमेरिकामा आयोजना गरिएको 'सङ्गालो' कथावाचन कार्यक्रममा जीइपीका चार विद्यार्थी उत्कृष्ट भएका छन् । कृयामणा फाउन्डेसनले अमेरिकाको ह्यारिसबर्ग, पेन्सिलभेनियाको, सेप्टेम्बर ५मा सम्पन्न गरेको उक्त कार्यक्रममा भूटानी - नेपाली समुदायका २४जना युवा तथा बालबालिकाहरुले सहभागिता जनाएका थिए । स्थानीय भुटानी–नेपाली समुदायका बालबालिका तथा युवालाई नेपाली भाषा, साहित्य, संस्कृति र समुदायको इतिहाससँग जोड्ने उद्देश्यले आयोजना गरिएको सो ‘सङ्गालो’ कथा वाचन कार्यक्रम ह्यारिसबर्गस्थित ६३०० चेम्बर्स हिल रोडमा आयोजना गरिएको थियो । प्रस्तुत गरिएका कथामा भूटानबाट भएको विस्थापन, नेपालका शरणार्थी शिविरमा बितेको जीवन, जेलका कठिन अनुभव, तेस्रो देश पुनर्वास, भाषा, संस्कृति र पहिचान जोगाउने संघर्षका विषय समेटिएको थियो । प्रतियोगितात्मक रूपमा सम्पन्न उक्त कार्यक्रममा सहभागी २४ मध्ये उत्कृष्ट १०मा ग्लोबल एजुकेशन प्रोग्राम (GEP)अन्तर्गत अध्ययनरत विद्यार्थीहरु हिमांशी धिताल, आयुषा चापागाईं, दिव्या घिमिरे र दिपशिखा घिमिरे उत्कृष्ट ५मा पर्न सफल भएका हुन् । आयुष धिताल, आयुषा चापागाईं, दिप्सिका घिमिरे, अस्लेशा तिम्सिना र दिव्या घिमिरेलगायत सहभागीले भावपूर्ण रूपमा कथा प्रस्तुत गरेका थिए । दिव्या घिमिरेले सुनाएको कथामा भूटान छोड्ने क्रममा एक वृद्धले आफ्नो झोलामा जन्मभूमिको माटो र भुटानी नागरिकताको कागज बोकेर हिँडेको मार्मिक प्रसंग समेटिएको थियो । प्रतियोगितामा प्रत्येक समूहका प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ४००, ३०० र २०० अमेरिकी डलर नगद पुरस्कार प्रदान गरिएको थियो। अमेरिकामा जन्मिएका नेपाली मूलका बालबालिकाहरुलाई विगत लामो समयदेखि शिक्षा प्रदान गर्दै आएको जीइपी(GEP) अनलाइन क्लासमा नेपाली भाषामात्रै नभएर नेपाली कला साहित्य लेख्न रचनात्मक बन्न समेत सिकाइँदै आइएको छ । जसको फलस्वरूप विद्यार्थीहरुमा आएको यस खालको उपलब्धिले आफू खुसी रहेको जीइपीसमेतलाई सन्चालन गर्दै आएको संस्था जिबिएल्ओका अध्यक्ष पातलो अन्तरेले बताउनु भयो । आगामी दिनमा थप रचनात्मक तथा सिर्जनात्मक बन्ने कुरा सिकाउन शिक्षकहरुलाई अनुरोध गर्ने कुरा समेत अध्यक्ष अन्तरेले जानकारी दिनुभयो ।
