डाइनामिक ग्रुपका पूर्व अध्यक्ष गायक अर्जुन खरेल मलेसियामा सम्मानित
झापा,२५ भदौ । मलेसियामा आयोजित ‘५औँ शिल्भर अन्तर्राष्ट्रिय म्युजिक अवार्ड–२०२६’ मा डाइनामिक ग्रुपका पूर्व अध्यक्ष गायक अर्जुन खरेल सम्मानि भएका छन् । झापा भद्रपुर निवासी गायक खरेल नेपाली संगीतलाई विश्व बजारमा पुर्याउने अभियानअन्तर्गत मलेसियामा सम्पन्न एक विशेष कार्यक्रममा 'बेस्ट लोक पप सङ्ग २०२६' अवार्डबाट सम्मानित भएका हुन् ।
प्रियासी म्युजिक प्रा.लि.को आयोजनामा मलेसियास्थित ग्रान्ड कन्टेनेटल होटलमा सम्पन्न उक्त भव्य कार्यक्रममा नेपाल वायु सेवा निगमका प्रबन्धक, पाइलट तथा राष्ट्रिय कलाकार विजय लामा, NRNA मलेसियाका अध्यक्ष, नेपालबाट पुग्नुभएका अन्य राष्ट्रिय कलाकारहरू तथा स्थानीय कलाकारहरूको बाक्लो उपस्थिति रहेको थियो।
विभिन्न स्रष्टा तथा कलाकारहरूद्वारा गायन र नृत्य प्रस्तुत गरिएको सो कार्यक्रममा गायक खरेलले आफ्ना चर्चित तथा लोकप्रिय गीतहरू 'चमेली', 'दुई चुल्ठि', 'गोदावरी फुल' लगायतका गीत गाएर दर्शकहरूलाई नचाएका थिए।
झापाको भद्रपुर नगरपालिका वडा नं १० (केन्द्रमोड) निवासी खरेल वीस वर्षअघिदेखि निरन्तर गायन क्षेत्रमा सक्रियताका साथ लागिपरेका छन् । यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान र अवार्डहरू प्राप्त गरिसकेका खरेलले पाएको यस अवार्ड आफू सम्बन्धित संस्था, आफ्नो समाज र सिङ्गो देशको सम्पति रहेको कुरा व्यक्त गरेका छन् भने सङ्गीत क्षेत्रमा केही गर्नका लागि थप हौसला र प्रेरणा मिलेको बताएका छन् ।