अन्तःप्रज्ञा

दीपा राई पुन · जेठ ३१, २०८१ ११:१४ AM
Cover Image for News

 जीवन फुल्नको लागि त 
 काँडाहरूसँग समर्पित हुनुपर्छ, 
 समयका प्रेमिल चोटहरू 
 जीवन पाठशालाको 
 जीवन बुझिलिने 
 यथार्थ प्रयोगशाला हो 
 जहाँ आफैलाई अनेक
 टुक्रामा भेटेँ र जोड़ेँ
 सग्लो सम्झिएर पनि 
 फेरि टुक्रैटुक्राको ज्ञप्ति
 टुक्रैटुक्राको अनुभूति
 जीवन त 
 जोडिँदै थपिँदै बन्ने
 पत्रैपत्रको तह पो रहेछ ।
 
 आत्मविश्वास बोकेर 
 खुशीले प्रेम गर्छु, 
 आँखा चिम्लिएर 
 कणकणमा देख्छु 
 जीवन हाँसेकै छ,
 चलेकै छ, 
 मान्छे  तिललाई पहाड़ बनाउँछ,
 अनि त्यही पहाडको छाँयामा
 ओझेल परेर 
 दुःख चिच्याउँछ, 
 अ-चेतनाको भुमरीमा रुमल्लिएर
 गुनासो गर्छ, 
 तर 
 दुःख कहाँ छ ? 
 सुख कहाँ छ ?
 केवल भिन्न-भिन्न अनुभूतिका
 चाङहरु मात्र छन्,
 फरक-फरक स्वादमा 
 
 आफै भित्र दबिएको खुशीको मूल 
 आफैले भेट्न नसक्ने
 बिचरा हामी कस्तूरी जीवन जीउन कति सजिलो छ, 
 प्राकृत जीवन 
 कति सुन्दर छ,
 त्यही सुन्दरतालाई 
 परिवेश पिएर आफै
 विषाक्त बनाउँछौ
 सान्सारिक मोहले, 
 
 त्यो विषाक्त भोक भन्दा पर 
 तिमी एउटा आत्मा 
 म एउटा आत्मा 
 सत्य युगबाट आजसम्म
 कैयौ शरीर फेर्दै आयौँ होला 
 कति संस्कार सिक्दै आयौँ होला
 यसैले त हामी खण्ड-खण्ड 
 जीवन बृतहरुमा टुक्रिरहन्छौँ, 
 केही बुझे जस्तो 
 केही नबुझे जस्तो 
 बिस्मृतिको ब्लाक होलबाट
 स्मृति सङ्गाल्न त 
 आज पनि आत्मालाई 
 शुद्धिकरण गरिरहनु पर्छ, 
 अन्यथा, 
 जस्तो छरिन्छ मोहको बिउ
 जस्तो रोपिन्छ द्वेषको राग
 त्यस्तै फल्दछ स्वयंमा 
 अनि घट्दै जान्छ आत्मबल 
 खोसिदै जान्छ ख़ुशी
 रित्तिँदै जान्छ माया ।
 
 साहसी बन्न त
 प्रेमभरि मनले 
 दुखको लाठी बनेर 
 अरुको खुशीमा साहारा बन्नु पर्छ 
 अरुको सुखमा हाँस्न सक्नु पर्छ 
 अनि मात्र जाग्दछ अन्तःप्रज्ञा !

ट्यागहरू:
सहित्य कविता literature
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
किरातीम्मा बोजू
किरातीम्मा बोजू
सुमित्रा वाङ्देल चेली पोष्ट-दिलिप घिमिरे - बुधबार ४ सेप्टेम्बर २०२४
नारी
नारी
कर्ण गुरुङ पोष्ट - खगिन्द्रा खुसी - सोमबार २ सेप्टेम्बर २०२४
मेरा बा
मेरा बा
किरण सुवेदी पोष्ट-दिलिप घिमिरे - सोमबार २ सेप्टेम्बर २०२४
आइमाई
आइमाई
लिला अनमोल पोष्ट-दिलिप घिमिरे - आइतबार १ सेप्टेम्बर २०२४