देवकोटाको ११७ औं जन्मजयन्तीको अवसरमा वानेश्वर क्याम्पसमा कविता प्रतियोगिता
२७ कार्तिक /आज वानेश्वर क्याम्पसमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११७ औं जन्मजयन्तीका अवसरमा अन्तरक्याम्पस कविता प्रतियोगिता सम्पन्न भयो ।
रमेश शुभेच्छुको आकर्षक सहजीकरण ,ध्रुव न्यौपानेको अध्यक्षता,पद्मप्रसाद देवकोटा (महाकविका सुपुत्र) मुख्य आमन्त्रित ,केदार न्यौपाने ,कोषराज न्यौपाने ,खोलाघरे साहिलो,सविता बराल लगायत विशेष आमन्त्रित हुनुहुन्थ्यो ।
अतिथि कवि सविता बरालबाट "उठ महाकवि"शीर्षकको नर्कुटक छन्दमा रचित कविता वाचनपछि शुरु भएको प्रतियोगितामा विभिन्न क्याम्पसका २५ जना विद्यार्थीरूको सहभागिता रहेको थियो । 
कार्यक्रममा पद्मप्रसाद देवकोटा,केदार न्यौपाने,कोषराज न्यीपाने लगायतका वक्ताहरूले महाकवि देवकोटा विभिन्न पक्षमाथि प्रकाश पार्नुुभएको थियो ।
वि.सं. १९६६ सालमा तिहारको लक्ष्मीपूजाको दिन पिता तिलमाधव देवकोटा र माता अमरराज्य लक्ष्मीको साइँलो छोराको रूपमा देवकोटा जन्मनुभएको थियो । देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना र फुटकर कविता प्रकाशित छन् । नेपाली साहित्यमा आधुनिक महाकाव्य लेखनको थालनी गरेका देवकोटाको ‘मुनामदन’ खण्डकाव्य नेपाली भाषामा प्रकाशित हालसम्म सबैभन्दा बढी बिक्री भएको पुस्तक हो ।