शम्भु-निर्मला विशिष्ट साधक सम्मानबाट त्रिपाठी र राणा सम्मानित
झापा / शम्भु-निर्मला विशिष्ट साधक सम्मान - २०८२बाट स्रष्टा वासुदेव त्रिपाठी र गायिका मीरा राणालाई बिहीबार सम्मान गरिएको छ।
कीर्तिशेष मिलनको पाँचौँ स्मृति दिवसका अवसरमा काठमाडौँमा आयोजित शम्भु–निर्मला विशिष्ट साधक सम्मान–२०८२ अर्पण समारोहमा प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठान पूर्वकुलपति‚ वरिष्ठ साहित्यकार गङ्गाप्रसाद उप्रेतीले जनही नगद रु. २१‚१२१ राशिसहित उक्त पुरस्कार तथा सम्मान प्रा.डा. त्रिपाठी (साथमा श्रीमती गीता त्रिपाठी) र मीरा राणालाई अर्पण गर्नुभएको थियो ।

सम्मानित प्रतिभा त्रिपाठीको विस्तृत परिचय प्रस्तुत गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य सचिव‚ वरिष्ठ साहित्यकार तथा दर्शनविद् प्रा. जगत्प्रसाद उपाध्यायले सिर्जना‚ समालोचना‚भाषा‚ व्याकरण‚ शब्दकोश‚ पाठ्यक्रम‚ पाठ्यपुस्तक‚ शिक्षा‚ दर्शन‚ पूर्वीय तथा पाश्चात्य साहित्य सिद्धान्त‚ विधासिद्धान्त‚ साहित्येतिहास‚ प्रशासन आदि जस्ता बहुक्षेत्रका ज्ञाता प्रा.डा. त्रिपाठी नेपाल र नेपालीका लागि एक विशिष्ट गौरव रहेको विचार व्यक्त गर्नुभयो भने सम्मानित व्यक्तित्व मीरा राणाको परिचयात्मक मन्तव्य राख्दै वरिष्ठ गायक तथा सङ्गीतकार डा. टीका भण्डारीले राणाको गायनकला‚ सङ्गीतकला‚ बहुभाषिक क्षमता‚ प्रशासनिक दक्षता आदि सबै क्षेत्रमा उत्तिकै दखल रहेको विचार व्यक्त गर्नुभयो ।

संस्थाकी संरक्षक निर्मला रेग्मीले यस सम्मानलाई हरेक वर्ष निरन्तरता दिने र राष्ट्रका गौरवहरूलाई खोजी खोजी प्रकाशमा ल्याउने संथाको योजना रहेको विचार व्यक्त गर्नुभयो ।
संस्थाका अध्यक्ष कवि तथा समालोचक प्रा.डा. देवी नेपालले सभाध्यक्षको मन्तव्य राख्दै २०८० सालमा वरिष्ठ पत्रकार‚ लेखक तथा अन्वेषक भैरव रिसाललाई सम्मान गरेर थालनी भएको यस सम्मानबाट २०८१ सालमा साहित्यतर्फ वैरागी काइँला र गीतसङ्गीततर्फ ईश्वर अमात्यलाई सम्मान गरिएको‚यस वर्ष प्रा.डा. त्रिपाठी र राणालाई सम्मान गरिएको हुँदा आगामी वर्षहरूमा पनि यस गरिमालाई घट्न नदिने र सम्मानको पाँच वर्ष पूरा भएपछि गायक तथा स्रष्टा मिलनका साथै सम्पूर्ण सम्मानित प्रतिभाहरूको जीवनी‚ व्यक्तित्व र कृतित्व समेटिएको बृहत् ग्रन्थ प्रकाशन गर्ने घोषणा गर्नुभयो ।
नेपालका आधिकारिक इतिहासविद्‚ नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व प्राज्ञ परिषद् सदस्य प्रा. दिनेशराज पन्त‚ त्रिभुवन विश्वविद्यालय ललितकला क्याम्पसका सहायक क्याम्पस प्रमुख कृष्णकुमार खरेल विशिष्ट अतिथि रहनु भएको थियो ।
कार्यक्रम संस्थाका महासचिव कृष्णप्रसाद पाण्डेको सञ्चालन तथा कोषाध्यक्ष सिर्जना रेग्मीको स्वागत मन्तव्य रहेको थियोे ।
कार्यक्रममा गायिका डा. सीता थापाले मीरा राणाको कालजयी गीत ‘तिमीलाई रुवाउने मेरो धोको हैन’ गाउनुभएको थियो भने कवि प्रविज्ञा नेपालले स्रष्टा त्रिपाठीद्वारा लिखित ‘वीरपुर्खा’ कविता वाचन गर्नुभएको थियो ।
ललितकला क्याम्पसकी छात्रा रोशा फुयालले गायक मिलनको शब्द,सगीत र स्वरमा गरेको लोकगीत ‘पानी पर्यो मायालु’ गाउनुभएको थियो । उहाँलाई रोशन फुयाल र सन्देश हुमागाईंले वाद्यवादनमा सहयोग गर्नुभएको थियो ।
उक्त अवसरमा गायक सचिन रौनियारले गायक मिलनको एउटा गीत गाउनुभएको थियो भने कविद्वय रत्ननिधि रेग्मी र गीता कार्कीले सम्मानित व्यक्तित्वद्वयको कवितात्मक सम्मान पत्र वाचन गर्नुभएको थियो । सूचना विभागको सभाकक्षमा आयोजित उक्त कार्यक्रममा नेपाली साहित्य र सङ्गीत क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।