शक्तिशाली कविका कविताले ततायो काव्य डबली
झापा पुस १५ गते/कोशी सेन्ट जेम्स कलेज इटहरीमा मङ्गलबार साँझ पुसको शीतलहरलाई चिर्दै मानिसहरूले काव्य डबलीमा भेला भएर कविता श्रवण गरेका छन्।
डबलीमा १३ जना कविहरूले आफ्ना कविता प्रस्तुत गरे। विवश पोखरेलले ‘नकचराहरूको नाममा,’ पुरुण याख्याले ‘पाना खाली नै छ,’ गोपाल देवानले ‘लाल अञ्जान जी,’ मुकुन्द प्रयासले ‘भ्रमको महाकाव्य,’ सुदीप पाख्रिनले ‘बोध,’ केजी सुब्बाले ‘आम्रपाली,’ शीर्षकको कविता प्रस्तुत गरे। 
कवि मनु मञ्जिलले समाजमा कविता नहुनु भनेको हृदय नभएको मानिसजस्तै रहेको उल्लेख गरे।
‘मानिससँग धन, पद र शक्तिले जतिसुकै ठूलो भएपनि जोसँग हृदय छैन, त्यो मानिस खासै उच्चस्तरको मानिस होइन,समाज पनि त्यस्तै हो,उनले भने।
साढे ५ बजेदेखि सुरू भएको कार्यक्रममा कवि मञ्जिलले भने, ‘मौनताले कविलाई बल दिन्छ। साँझको समय मौन बस्न सकिने समय भएकाले यो समयमा कविताको कार्यक्रम राखिएको हो। कविता ध्यान हो। ध्यानको अनुभूति गराउनका निम्ति पनि यो कार्यक्रमले बल दिनेछ।’
सहरलाई अर्कै एउटा उचाईमा पु¥याउने उद्देश्यले सुरू गरिएको काव्य डबलीमा मानिसहरूले फरक अनुभूति गरे। कुनै थियटरमा गएर चुपचाप नाटक हेरेजस्तै कविताको रसास्वादनमा हराएजसरी आमन्त्रित मानिसहरू मन्त्रमूग्ध बने। यतिबेलासम्म मानिसको शरीरको चिसो हटिसकेको थियोे । मनको कुनाकुना कविताका धूनहरू गुञ्जिरहेको थियो ।
संगीत संयोजन प्रकाश घिमिरेले गरेका थिए। आयोजकका अनुसार कार्यक्रम कुनै संस्था वा व्यक्ति विशेषको नभई स्थानीय कवि–लेखकहरूको स्वस्फूर्त पहलमा सञ्चालन गरिएको हो।