साधुटारमा अन्तर्राष्ट्रिय साहित्यिक पर्यटन महोत्सव गरिने
झापा १८ फागुन/झापाको अर्जुनधारा-१ साधुटारस्थित श्री शंकराचार्यपीठ वेद वेदाङ्ग संस्कृत पाठशाला तथा सिद्धेश्वरी कामदा गौशालामा तीन दिवसीय अन्तर्राष्ट्रिय साहित्यिक पर्यटन महोत्सव गरिने भएको छ ।
झापा जिल्लामा हुने साहित्यिक गतिविधि तथा धार्मिक तथा पर्यटकीय स्थल साधुटारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने उद्देश्यले तीन दिवसीय अन्तर्राष्ट्रिय साहित्यिक पर्यटन महोत्सवको आयोजना गरिन लागेको श्री शंकराचार्यपीठ वेद वेदाङ्ग संस्कृत पाठशाला तथा सिद्धेश्वरी कामदा गौशालाका आचार्य लक्ष्मीप्रसाद खतिवडाले जानकारी दिए ।
आगामी फागुन २८, २९ र ३० गते आयोजना हुने तीन दिवसीय अन्तर्राष्ट्रिय साहित्यिक पर्यटन महोत्सवमा भारतका आसाम,दार्जिलिङ, सिक्किमसहित नेपालका विभिन्न स्थानमा साहित्यकार तथा धार्मिक व्यक्तिहरुको आवासीय रुपमा सहभागीता रहने उनले बताए ।
फागुन २८ गते भारतका आसाम,दार्जिलिङ, सिक्किमबाट आउने अतिथिहरुलाई मेची पुल काँकडभिट्टामा भव्य स्वागत गर्दै महोत्सव स्थल श्री शंकराचार्यपीठ वेद वेदाङ्ग संस्कृत पाठशाला तथा सिद्धेश्वरी कामदा गौशालामा ल्याइने र नेपालका विभिन्न स्थानबाट आउने अतिथिहरुलाई पनि स्वागत सत्कार गरिने संस्थाका सल्लाहकार संयोजक तथा कार्यक्रम संयोजक गोपिकृष्ण खतिवडाले जानकारी दिए ।
ती अतिथिहरुलाई फागुन २९ गते बिहान योग शिविर तथा श्री शंकराचार्यपीठ वेद वेदाङ्ग संस्कृत पाठशाला तथा सिद्धेश्वरी कामदा गौशालाको धार्मिक गतिविधिमा सहभागीता गराइने र बिहान ९ बजेदेखि ३ बजेसम्म झापाका विभिन्न २० वटा गुरुकुलका विद्यार्थीहरुलाई प्रा डा. देवी नेपालले छन्द कविता लेखन सम्बन्धि प्रशिक्षण प्रदान गर्ने ,दिउसो ३ बजेदेखि ५ बजेसम्म अतिथि पाहुनाहरुलाई चुरे क्षेत्र तथा मदन भण्डारी लोकमार्गको अवलोकन गराइने तथा गुरुकुलका प्रशिक्षित विद्यार्थीहरुलाई स्थलगत छन्द कविता लेख्न लगाइने र उनीहरुले लेखेको कविता बेलुका ५ देखि ६ बजेसम्म वाचन गर्न लगाई पुरस्कृत गरिने,बेलुका ६ बजेदेखि ७ बजेसम्म गुरुकुलीय गतिविधिबारे अतिथिहरुलाई अवलोकन सहितको जानकारी गराइने र ७ बजेदेखि भजन तथा गजल सहितको काव्यसभा आयोजना गरिने र त्यहाँ जुनियर अनुप जलौटा नामले परिचित रमेश प्रजापतिले भजन र नारी छन्दकविहरुद्वारा कविता तथा गजल बाचन गरिने कार्यक्रम संयोजक खतिवडाले जानकारी दिए ।
महोत्सवको अन्तिम दिन फागुन ३० गते बिहान गुरुकुलीय गतिविधि सहित ९ बजे समापन समारोह आयोजना गरिने र समापन कार्यक्रममा डा.दिपक न्यौपानेले समसामयिक नेपाली कविताका प्रवृत्ति विषयक कार्यपत्र प्रस्तुत गर्ने र त्यसको टिप्पणी साहित्यकार शिव `प्रणत´रेग्मीले गर्ने,डा महेश पौडेलले पर्यटन र साहित्यको सम्बन्ध विषयक कार्यपत्र प्रस्तुत गर्ने र त्यसको टिप्पणी साहित्यकार प्रतिक ढकालले गर्ने ,डा कर्णाखर खतिवडाले आरोग्य पर्यटन विषयक कार्यपत्र र आयोजक संस्थाले शंकराचार्य परम्परा र पूर्वीय दर्शन विषयक कार्यपत्र प्रस्तुत गर्ने र अन्य साहित्यिक कार्यक्रम समेत प्रस्तुत गरिने कार्यक्रम संयोजक खतिवडाले जानकारी दिए । फागुन ३० गते हुने समापन समारोहको प्रमुख अतिथिको रुपमा कोशी प्रदेश सरकारका वन तथा पर्यटन मन्त्री भीम पराजुलीलाई आग्रह गरिएको उनले बताए ।
पत्रकार सम्मेलनमा सहभागीहरूले महोत्सव सफल बनाउन विभिन्न सुझाव दिएका थिए ।कार्यक्रमको सहजीकरण संस्थाका सल्लाहकार संयोजक तथा कार्यक्रम संयोजक गोपिकृष्ण खतिवडाले गरेका थिए ।