सुर्खेतमा निरूको ‘वनफूलको विद्रोह´ कविता संग्रहमाथि विमर्श

दिलिप घिमिरे · पौष २१, २०८२ ७:३६ PM
Cover Image for News

झापा २१पुस/समकालीन नेपाली कवितामा आफ्नै मौलिक स्वर स्थापित गरिसकेकी कवयित्री निरञ्जना चन्द ‘निरू’ को नयाँ कवितासंग्रह ‘वनफूलको विद्रोह’ सार्वजनिक गरिएको छ।

 सुर्खेतको वीरेन्द्रनगरमा सिम्ताली एकता समाजद्वारा आयोजित साहित्यिक कार्यक्रममा कवितासंग्रहको औपचारिक विमोचन तथा गहन कृति विमर्श गरिएको हो।
 कार्यक्रमका प्रमुख अतिथि मप विश्वविद्यालयका पूर्व रजिस्ट्रार महेन्द्रकुमार मल्ल तथा विशिष्ट अतिथि मप विश्वविद्यालयका उपप्राध्यापकद्वय डा. रेशमबहादुर विष्ट र बासुदेव पाण्डेयले संयुक्त रूपमा कृतिको विमोचन गर्नुभएको थियो।

फोटो
विमोचनपश्चात् आफ्नो मन्तव्य राख्दै पूर्व रजिस्ट्रार मल्लले कवयित्री चन्दको लेखनशैली समकालीन समाजका यथार्थलाई गहिरो संवेदनासहित अभिव्यक्त गर्ने सामर्थ्य राख्ने उल्लेख गर्नुभयो। उहाँका अनुसार ‘वनफूलको विद्रोह’ शीर्षकले नै प्रकृति–प्रतीकमार्फत स्वतन्त्रताको आकांक्षा, अस्तित्वको खोज, विद्रोही चेतना र सामाजिक न्यायको आवाजलाई सशक्त काव्यिक भाषामा उठान गरेको छ। कवितामा भावनात्मक गहिराइसँगै सामाजिक सन्देशको स्पष्टता देखिने उहाँको भनाइ थियो।

कार्यक्रममा समालोचक डा. रेशमबहादुर विष्टले कवि चन्दका कविताहरू जीवनका उतार–चढाव, पीडा, आशा र संघर्षका विविध आयामसँग गाँसिएको बताउनुभयो। 

त्यसैगरी समालोचक बासुदेव पाण्डेयले ‘वनफूलको विद्रोह’ लाई समकालीन नेपाली कविताको सशक्त कृति भन्दै यसमा प्रकृति, समाज र मान्छेको अन्तरसम्बन्धलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको धारणा राख्नुभयो।
समारोहमा कवयित्री निरञ्जना चन्द ‘निरू’ ले आफ्नो कविता लेखन यात्राबारे भावुक रूपमा प्रकाश पार्दै कविता लेखन आफ्ना लागि जीवनका अनुभूति, संघर्ष र संवेदनालाई अभिव्यक्त गर्ने माध्यम भएको बताउनुभयो।
 

फोटो
कवि निरू सिम्ता–साहुखोला (सुर्खेत) जन्मस्थल र बर्दिया कर्मथलो भएकी सक्रिय तथा चर्चित समकालीन कवयित्रीका रूपमा परिचित हुनुहुन्छ। यसअघि उहाँका ‘साइनो’ (२०७६) र ‘निरूको निरूपण’ (२०७७) नामक कवितासंग्रह प्रकाशित भइसकेका छन्।
 
सिम्ताली एकता समाजका अध्यक्ष ध्रुव सिंहको अध्यक्षतामा सम्पन्न उक्त विमोचन समारोहमा कवि,समालोचक,बुद्धिजीवी,सामाजिक अभियन्ता साहित्यप्रेमी विद्यार्थी तथा पत्रकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

ट्यागहरू:
साहित्य #पर्यटन साहित्य #जीवनी
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।