साहित्यकार निर्मला कोइरालाद्वारा सम्पादित ´अक्षरको यात्री` विमोचन
झापा ७ चैत्र /पूर्वाञ्चल साहित्य प्रतिष्ठानको आयोजनामा शनिबार ‘अक्षरको यात्री’ विमोचन गरिएको छ ।
विराटनगरस्थित एलिट क्लबमा आयोजित समकालीन नेपाली साहित्यमा समालोचना विधाको सशक्त उपस्थिति झल्काउने उद्देश्यले साहित्यकार निर्मला कोइरालाद्वारा सम्पादित ‘अक्षरको यात्री’ कृति सार्वजनिक गरिएको हो।
कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यकार डा. कृष्णप्रसाद दाहालसहित साहित्यिक क्षेत्रका अग्रज व्यक्तित्वहरूले संयुक्त रूपमा कृतिको विमोचन गरे । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष एवम् विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, महेन्द्र मोरङ क्याम्पसका पूर्वप्रमुख बाबुराम तिम्सिना, प्राज्ञ खेम नेपाली, गंगा सुवेदी तथा बलराम पोखरेललगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।
१६ जना साहित्यकारका कृतिमाथि आधारित समालोचनात्मक लेख समेटिएको ‘अक्षरको यात्री’ले नेपाली साहित्यका विविध धार र प्रवृत्तिको समीक्षात्मक विश्लेषण प्रस्तुत गरेको जनाइएको छ। संग्रहमा वरिष्ठ साहित्यकार विश्वेश्वरप्रसाद कोइरालादेखि पछिल्लो पुस्तासम्मका सिर्जनाहरूको आलोचनात्मक अध्ययन समावेश गरिएको छ, जसले पुस्तान्तरबीचको साहित्यिक सेतु निर्माणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि दाहालले नेपाली साहित्यमा समालोचना विधाको प्रभाव विस्तार हुँदै गएको उल्लेख गरे ।
कार्यक्रममा वक्ताहरूले ‘अक्षरको यात्री’ले समालोचनालाई केवल आलोचना नभई बौद्धिक विमर्शको माध्यमका रूपमा स्थापित गर्न सहयोग पुर्याउने विश्वास व्यक्त गरे।
सम्पादक निर्मला कोइरालाले कृतिले नेपाली साहित्यका विविध आयामलाई तथ्यपरक र सन्तुलित दृष्टिकोणबाट प्रस्तुत गर्ने प्रयास गरेको बताइन् ।
विवश पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव गोकुल अधिकारीले गरेका थिए।