साहित्य चौतारीद्वारा साहित्यकार कोमलप्रसाद पोखरेलका हातबाट टीका ग्रहण

दिलिप घिमिरे · असोज २१, २०८२ ९:५६ PM
Cover Image for News

साहित्य चौतारी नेपाल, झापाले नेपालीहरूको महान् चाड बडा दशैंको अन्तिम दिन अर्थात् कोजाग्रत पूर्णिमाको दिन संस्थाका मानार्थ सल्लाहकार, अभिनन्दित सर्जक एवं अभिभावक कोमलप्रसाद पोखरेलको हातबाट टीका–जमरा ग्रहण गर्दै यस वर्षको बडादशैंलाई विदा गरेको छ।
 
झापाको सुरुङ्गास्थित पोखरेलको निजी  निवासमा साहित्य चौतारी परिवार सहित अन्य  साहित्यकारहरूले उहाँको हातबाट टीका ग्रहण गरेका थिए। उक्त अवसरमा संस्थाका संरक्षक अध्यक्ष तथा नेपाल फिल्म सोसाइटी कोशी प्रदेश संयोजक देवीभक्त श्रेष्ठले विगतका वर्ष झैं यस वर्ष पनि अग्रज र जेष्ठ स्रष्टाबाट आशीर्वाद ग्रहण गर्ने परम्परालाई निरन्तरता दिइएको बताउनुभयो। 

श्रेष्ठका अनुसार, "सर्जक र स्रष्टाको सम्मान गर्दै उहाँहरूबाट प्रेरणा र आशीर्वाद ग्रहण गर्नु नै हाम्रो सांस्कृतिक र साहित्यिक परम्पराको निरन्तरता हो," भन्दै कार्यक्रमको उद्देश्य स्पष्ट पार्नुभयो। 

कार्यक्रमको अध्यक्षता देवीभक्त श्रेष्ठ र प्रमुख आतिथ्य अग्रज साहित्यकार कोषराज न्यौपानेले गर्नुभएको थियो।
 न्यौपानेले ब्यानर पढी कार्यक्रम उद्घाटन गर्नुभएको थियो भने अध्यक्ष श्रेष्ठले देवी वन्दना र भक्तिरसपूर्ण भजनहरूद्वारा कार्यक्रमलाई धार्मिक र सांस्कृतिक रौनकता प्रदान गर्नुभयो। 

प्रमुख अतिथि न्यौपानेले  कला, साहित्य र संस्कृतिको संरक्षणमा साहित्य चौतारीले पुर्‍याउँदै आएको योगदानको खुलेर प्रशंसा गर्नुभयो। 

फोटो


कार्यक्रममा उपाध्यक्ष तथा नेपाल फिल्म सोसाइटी कोशी प्रदेशका उपाध्यक्ष हिम्मत नेम्बाङले स्वागत मन्तव्य राख्नुभएको थियो। 

कार्यक्रममा बोल्दै अग्रज साहित्यकार पुण्यप्रसाद खरेलले भाषाविद्, शिक्षक, लेखक तथा समाजसेवी व्यक्तित्व कोमलप्रसाद पोखरेलको योगदानको प्रशंसा गर्दै उहाँ “झापाली माटोले जन्म दिएको एक विलक्षण स्रष्टा” भएको उल्लेख गर्नुभयो। 

त्यस्तै, साहित्यकार हरिनारायण भट्टराईले नेपाली साहित्यमा चडामणि रेग्मी ,रोहिणिविलास लुइँटेल र कोमलप्रसाद पोखरेललाई तीन देउराली मान्ने गरेको बताउनुभयो । 

कार्यक्रममा लोकगायक तथा सल्लाहकार अनिरुद्र ओली,त्रिफला पुस्तकालयका प्रेमप्रकाश फलाहरीले मन्तव्य राख्नुभएको थियोे ।
कार्यक्रममा मिना अधिकारी, चित्रा पौडेल, कल्पना भट्टराई, र मनिषा भट्टराईले रचना र गीत प्रस्तुत गरी कार्यक्रमलाई सांगीतिक र काव्यात्मक रंग दिएका थिए। 

कार्यक्रममा पत्रकार तथा साहित्य चौतारीका पूर्व अध्यक्ष केशव आचार्य, साहित्यकार भवानी क्षेत्री, कन्काई प्रतिभा प्रतिष्ठानका अध्यक्ष जीवननाथ सुवेदी, शिक्षाविद् चन्द्रप्रसाद प्रसाई, साहित्यकार चित्रा पौडेल, राजेन्द्र तिम्सिना, भरत भावुक प्रसाई, मिना अधिकारी, कल्पना भट्टराई, मनिषा भट्टराई, कुमार श्रेष्ठ लगायत झापाका दर्जनौं साहित्यकारहरूको उल्लेख्य  उपस्थिति थियो। 

कार्यक्रमको सञ्चालन साहित्य चौतारीका सचिव तथा नेपाल फिल्म सोसाइटी कोशी प्रदेशका सचिव तुलसीप्रसाद निरौलाले गर्नुभएको थियो।

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू