‘पठन संस्कृति वर्ष-२०२६’ को घोषणा र कृति लाेकार्पण
झापा /झापाको बिर्तामोडमा आयोजित एक कार्यक्रमबीच ‘पठन संस्कृति वर्ष-२०२६’को घोषणा गरिएको छ ।
‘रिडर्स अभियान, नेपाल’,‘अभियानका लागि अभियन्ता’,‘वीरता रिडर्स’, ‘झापाली साहित्य समाज’ को आयोजना तथा ईशा बुक्स सेन्टर बिर्तामोड र मिडिया रिसर्च सेन्टरको संयोजनमा होटल हेवन ग्रान्ड विर्तामोडमा ‘पठन संस्कृति वर्ष–२०२६’को घोषणा गरिएको हो ।

कार्यक्रम अनौपचारिक रूपमा पहिलो सत्र सुरु भयो- शून्य समय भनेर खगिन्द्रा खुसीको सञ्चालनमा कविता,गीत,गजल गायनका रूपमा ।
स्रष्टाहरु गीता सुवेदी नेपाल,दीपा दाहाल,राजेश ढुङ्गाना,सुनीता तामाङ,मायामितु नेउपाने, रञ्जिता खड्का,केशव आचार्य,भगवती ढुङ्गेल, हरिनारायण भट्टराई,डिल्लीरमण नेपाल, कृष्ण बराल,तुलसीप्रसाद भट्टराई,दुर्गाप्रसाद सिग्देल,केदार शर्मा,रश्मिशेखर सुवेदी,लीला अनमोल,राजकुमार विश्वकर्मा, पुण्यप्रसाद खरेल,कृष्णप्रसाद मिश्र, रेखा सापकोटा,नमुना निरौला दाहाल, दीपेन्द्र आचार्य,लक्ष्मी अच्युत ढुङ्गाना तथा पुष्प शाहले आफ्ना रचना सुनाउनु भयो ।
अभियानमा सामेल १०० भन्दा बढी संघ–संस्थाका प्रमुखहरुलाई कार्यक्रममा आतिथ्य गराइएको थियो ।
कार्यक्रममा दुई वटा पुस्तक लोकार्पण गरिए–तीर्थ सिग्देलको पुस्तक ‘त्यो झापा’को लोकार्पण,त्यस कृतिको सृजनाका सहयोगीहरु परमानन्द मिश्र,दुर्गा राजवंशी, प्रेमसागर खनाल, कुलप्रसाद नेउपाने, दयानन्द गोस्वामी लगायतद्वारा गराइयो भने उपन्यासकार हेम गुरागाईंको उपन्यास ‘दिगो समाधान’लाई साहित्यकारहरु पुण्यप्रसाद खरेल,केशव आचार्य तथा तारा राईद्वारा लोकार्पण गराइयो । 
लीला उदासीले तीर्थ सिग्देलको पुस्तक ‘त्यो झापा’को विशेषता, त्यस कृतिले उठाएको ऐतिहासिकता, पुस्तकले दिने ज्ञान र सन्देश तथा यसका सीमाहरुका बारे बोल्नुभयो ।
महेन्द्रकुमार गिरीले अभियानको महत्व, अभियान कसरी कसरी संचालन गर्न सकिन्छ, के के व्यवधान आउन सक्छन्, अभियानलाई सफल पार्न के के कुरामा विशेष ध्यान दिनुपर्छ ? भन्नेबारे बोल्नुभयो भने केदार शर्माले पुस्तकको महत्व, पुस्तक पढ्नुको महत्व, पुस्तक पढेर आलोचनात्मक चेतको विकास गर्ने र सृजनात्मक उपयोग गर्ने बारे तथा पुस्तक पढन्तामा जाग्नसक्ने अहं र त्यसलाई जित्नुपर्ने बारे र पुस्तक पढ्ने संस्कृति विकास गर्न कस्ता कस्ता काम गर्न मनासिव हुन्छ भन्ने विषयमा बोल्नुभयो ।
