शम्भु-निर्मला विशिष्ट साधक सम्मान स्रष्टा त्रिपाठी र गायिका राणालाई

दिलिप घिमिरे · पौष ४, २०८२ १२:०१ PM
Cover Image for News

पुष ४/शम्भु-निर्मला विशिष्ट साधक सम्मान - २०८२बाट स्रष्टा वासुदेव त्रिपाठी र गायिका मीरा राणालाई सम्मान गरिने भएको छ।

 वरिष्ठ स्रष्टा तथा गायक शम्भुकुमार मिलनको नाममा स्थापित शम्भु-निर्मला कला-साहित्य समाजले हरेक वर्ष नेपाली भाषा, साहित्य, इतिहास,दर्शनशास्त्र,समाजशास्त्र,गीतसङ्गीत र कलाकारिताका क्षेत्रमा अति विशिष्ट योगदान दिने व्यक्तित्वहरूमध्येबाट साहित्य सेवा क्षेत्रबाट एक जना र गीतसङ्गीत क्षेत्रबाट एकजना दीर्घसाधकलाई 'शम्भु निर्मला विशिष्ट साधक सम्मान प्रदान गर्दै आएको छ। 

संस्थाले यस वर्षको 'शम्भु -निर्मला विशिष्ट साधक सम्मान-२०८२' बाट भाषा साहित्यको दीर्घसाधनाका लागि वरिष्ठ स्रष्टा एवम् महासामालोचक प्रा.डा. वासुदेव त्रिपाठीलाई र गीतसङ्गीतको दीर्घसाधनाका लागि वरिष्ठ गायिका मीरा राणालाई जनही नगद २१हजार १सय २१ रुपैयाँ र सम्मानपत्र सहित सम्मानित तथा पुरस्कृत गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष प्रा.डा. देवी नेपालले बताए । 

वि.सं. १९९९ चैत्र १३ गते तनहुँमा जन्मिएर संस्कृतमा आचार्य, नेपालीमा प्रथम श्रेणीमा प्रथम भई एम.ए र नेपाली साहित्यमा पहिलो विद्यावारिधिसम्मको उच्च शिक्षा हासिल गरी त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपतिसमेत भएर उच्च प्राज्ञिक कर्महरू गरिसक्नुभएका त्रिपाठी वरिष्ठ कवि, समालोचकहरूका पनि समालोचक महासमालोचक, गुरुहरूका पनि गुरु महागुरु हुनुहुन्छ ।

नेपाली कविताको सिंहावलोकन', 'पाश्चात्य समालोचनाको सैद्धान्तिक परम्परा' विचरण' लगायतका दर्जनों समालोचनात्मक कृतिहरू 'तीनथुंगा','देशकोमहिमा','अर्धनारीश्वर','नवपल्लव'लगायतका दर्जनौं कविता तथा काव्यहरू र कविता, लेख, निबन्ध, समालोचना, भाषा आदि क्षेत्रका अनगिन्ती फुटकर रचनाहरू प्रकाशन गरिसक्नुभएका त्रिपाठीले नेपाल प्रज्ञा-प्रतिष्ठानका उपकुलपति हुँदा नेपालको प्राज्ञिक उन्नयनका लागि अनेकों अविस्मरणीय प्राज्ञिक कर्महरू गरेर नेपाली भाषा साहित्यका क्षेत्रमा अनुपम योगदान दिनुभएको छ ।

यसरी नै वि.सं. २००८ सालमा कमलपोखरी, काठमाडौंमा जन्मिएकी मीरा राणाले ३१ वर्षसम्म रेडियो नेपालमा सेवा गर्नुका साथै ५५वर्ष नेपाली गीतसङ्गीतको साधना गरिसक्नुभएको छ। यस अवधिमा उहाँले तिमी देऊ या नदेऊ', 'तिमीलाई रुवाउने', 'मेरो पाउमा आज'लगायतका १ हजार ६ सय अत्यन्त लोकप्रिय गीतहरू गाएर नेपाली गीतसङ्गीतका क्षेत्रमा अतुलनीय योगदान
 दिनुभएको छ । 

कीर्तिशेष स्रष्टा तथा गायक शम्भुकुमार मिलनको पाँचों वार्षिक स्मृतिदिवसका अवसरमा यहीँ २०८२ पौष १० गते बिहीबार यो सम्मान तथा पुरस्कार प्रदान गर्न लागिएको आयोजक संस्थाले जानकारी गराएको छ। 
 नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेती प्रमुख आतिथ्यमा सूचना विभागको सभाकक्ष, सञ्चारग्राम, काठमाडौँमा कार्यक्रम गरिने छ ।

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू