कवि मनप्रसाद सुब्बा र साहित्यकार मुक्तिप्रसाद उपाध्याय सिलगढीमा पुरस्कृत
कवि मनप्रसाद सुब्बालाई देवकोटा साहित्य शिव पुरस्कार २०२५ तथा साहित्यकार मुक्तिप्रसाद उपाध्याय बराललाई गिरी साहित्य सेवा पुरस्कार २०२५ बाट शनिबार सम्मानित गरिएको हो।
बिजनबारी, दार्जिलिङ, भारत निवासी कवि मनप्रसाद सुब्बा तीसको दशकमा कविता लेख्न थालेका हुन् । उनका ‘बिब्ल्याँटो युगभित्र कार्टुन मान्छेहरू’, ‘बुख्याँचाहरूको देशमा’, ‘उष्मा, आदिम बस्ती’, ‘ऋतु क्यानभासमा रेखाहरू’, ‘अक्षर–अर्केस्ट्रा’, ‘किनाराका आवाजहरू’, ‘भुइँफुट्टा शब्दहरु’, ‘मनप्रसाद सुब्बाका प्रतिनिधि कविताहरु’ प्रकाशित छन् । ‘ 
कार्यक्रममा प्रमुख अतिथिको बाहुलीबाट स्रष्टा सुब्बा र बराललाई सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो।
सिलगढ़ी देवकोटा संघद्वारा महाकवि लक्ष्मीप्रसाद देवकोटा पथ, प्रधान नगर,सिलगढ़ी,भारतमा सम्पन्न अलङ्करण समारोहमा प्रमुख अतिथिमा प्रा. गोबिन्दराज भट्टराई रहनु भएकाे थियो भने अध्यक्षता देवकोटा सङ्घका अध्यक्ष मिलन रुचालले गर्नुभएको थियो।
कार्यक्रममा नेपाल र भारतका दर्जनौं साहित्यकारहरूको गरिमामय उपस्थिति रहेको थियो। देवकोटा र बुद्धको मूर्तिमा माल्यार्पण गरी सुरु गरिएको कार्यक्रममा दीपक प्रज्वलन मन्त्र पाठ तथा राष्ट्रिय गीत समेत प्रस्तुत गरिएको थियो।
संस्थाका सचिव श्याम प्रधानले स्वागत मन्तव्य राख्नुभएको थियो भने ' समकालीन साहित्य चिन्तक अगम सिंह गिरी ' विषयमा डाक्टर इन्द्रमान सुब्बाले आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो। स्रष्टा प्रियांस राई र नितेश राईले अगमसिंह गिरीका कविता वाचन गरेर सुनाउनुभएको थियो। 
उक्त कार्यक्रममा पुरस्कृत व्यक्तित्व दुयाले आफ्नो मन्तव्य प्रस्तुत गर्नुभएको थियो। साहित्यकार कृष्ण मग्राँती तथा पार्वती ठकुरी ममता प्रधान क्षेत्रीको मिठो गीतका साथमा नर्तकी स्नेहा गुरुङको प्रस्तुतिले सबैलाई लोभ्याएको थियो।
बाडुलीका प्रमुख सम्पादक प्राध्यापक कृष्णराज घतानीको विचारबाट मौन बसेका श्रोता तथा दर्शकहरुलाई मुख्य अतिथि डाक्टर रिन्जी वाङ्दीको सरल भाषामा प्रस्तुत वक्तव्यले पेट मिचीमिची हाँस्न बाध्य बनाएको थियो। प्रमुख अतिथि प्राध्यापक डा. गोविन्दराज भट्टराईको सारगर्भित मन्तव्यपछि अध्यक्षले औपचारिक रुपमा आफ्नो मन्तव्य सहित कार्यक्रमको समापन गर्नु भएको समाचार स्रष्टा डिल्लीराम चापागाईं परदेशीबाट प्राप्त भएको छ।