कवि चन्द्र सम्बाहाम्फेको ´पहाडको पैताला´ कृतिमाथि दमकमा विमर्श
झापा /कवि चन्द्र सम्बाहाम्फेको नवीन कृति पहाडको पैताला कविता कृतिमाथि दमकमा विमर्श गरिएको छ।
जोंग्री क्युजीन क्याफे दमकमा शनिबार आयोजीत विमर्श कार्यक्रम रिडर्स ग्रुपले आयोजना गरेको थियो। 
“पहाडको पैताला” ५० वटा कविताहरु सँग्रहित छन् । उनका अधिकांश कविता आदिवासी चेतनाको धरातलमा दरिलो गरि अभिएको पाइन्छ । सत्ता प्रति उनको कडा र जायज प्रश्नहरु कवितामा छन् । भुईँ मान्छेको महत्वपूर्ण मुद्दाहरुको उठान कवितामा गरिएको छ । कवि सम्बाहाम्फेको यी पक्षहरु कवितामा समेटिनु नै शक्तिशाली पक्ष रहेको विमर्श कार्यक्रममा जानकारी गराइएको थियोे ।
“पहाडको पैताला” शब्दावली नै बिम्बात्मक छ । यसलाई थुप्रै दृष्टिकोणबाट बुझ्न, हेर्न सकिन्छ ।
काठमाडौँ!
आखिर भगवानहरुको सहर न हो
यहाँ कसैले सोच्दैनन्
मान्छेले पनि बाँच्नु पर्छ भनेर
(काठमाडौँ, पृष्ठ ६)
प्रस्तुत कविता काठमाडौँ शिर्षकको कविताको कवितांश हो । सहरसँग थुप्रै कुराहरु भन्दा अग्लो र विशाल भौतिकवाद र पुजिवादले उभ्याइदिएको अहम छ । जसले कुल्चिदिएको छ, संवेदनाका फूलहरु । यही कुराको चित्रणसँगै फूर्सदले पनि फूर्सद नपाउने यो सहरमा कविले आफ्नो अस्तित्वको दाबि गरेका छन् ।
सभ्यता निर्माणको
ऐतिहासिक स्थल भत्काएर
कसरी ल्यायौ
कौशिकी स्मृति रङ्गशाला बनाउने योजना ?
अथवा चिल्डे«न पार्क र रानीवनहरु ?
( आदिवासी बगैँचा, पृष्ठ १४)
“विकास भनेको भौतिक संरचना मात्रै हो”,भन्ने डरलाग्दो मनोविज्ञान पुँजीवादले निर्माण गरे सँगै प्रकृतिनै सर्वैसर्वा ठान्ने आदिवासी चिन्तन, दर्शन र विचारहरु माथि सत्ताको अनुहार बोकेका एउटा तह, तप्काले पटकपटक निर्मम प्रहार गर्न खोजिरहेको प्रसंग कविताले बोलेको कार्यक्रममा उपस्थितिहरुको भनाई छ।
कार्यक्रममा अभागी थेगुवा,विवश बलिभद्र कोइराला ,सुन्दर कुरुप,सानसेन पन्धाक,दधिराम ढकाल,राजकुमार सुब्बा,केपी घिमिरे लगायतको उपस्थिति रहेको थियो।