कृष्ण उदाशीको ‘पानीको पर्खाल’ विमोचन
२३कार्तिक,झापा /‘पानीको पर्खाल’ कविता कृति लिएर कवि कृष्ण उदाशी देशको केन्द्रिय राजधानी काठमाडौं पुगे । गत शनिबार मात्रै काठमाडौंको सर्वनाम थिएटरमा उक्त कृति विधिवत रूपमा विमोचन भयो ।
अग्रज कवि श्रवण मुकारुङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा कवि श्रवण मुकारुङ, समीक्षक डा. अशोक थापा, कृतिका सर्जक कृष्ण उदाशी र उपन्यासकार जयराम तिम्सिनाले एकसाथ कृतिको विमोचन गरेका थिए ।


विमोचन कार्यक्रममा आफ्नो कृतिको सन्दर्भलाई जोड्दै कृष्ण उदाशीले भने “काठमाडौले जहिल्यै हामीलाई मोफसलको ठान्छ । हामी होइनौँ भन्छौँ, ऊ हो भन्छ । यसकारण पनि यो पर्खाल भत्काउन म यहाँ यसरी उभिएको छु ।” किताबको सन्दर्भलाई जोड्दै उनले कृतिबाट ‘हिउँद र मेरा बा’ र ‘गाउँ र आमाहरू’ शीर्षकका दुईवटा मार्मिक कविताहरू वाचन गरेर उपस्थित अतिथि दर्शकलाई बडो भावुक बनाए ।
उदासीको प्रकाशित पहिलो कृति ‘दाइजो’ उपन्यास हो, जो २०६४ मा प्रकाशित भयो । ६०६७ मा गजल संग्रह दोभानपारि बाबरी र २०७० मा श्रीमती वविता घिमिरेसँगको संयुक्त कथा संग्रह ‘म हराएको साँझ’ प्रकाशित छ ।
कार्यक्रममा गायक संगीतकार राजनराज शिवाकोटी, गायक संगीतकार गौरभ दर्पण, प्रा.डा. जनार्दन घिमिरे, उपन्यासकार श्याम सिङ्घक, कवि विशाल नाल्बो, कवि मिथोच, उपन्यासकार जयराम तिम्सिना, कुशलदेव घिमिरे नबराज थापा, योगमाया दाहाल, शरद अधिकारीलगायत पाँच दर्जनमाथि सर्जक तथा शुभचिन्तक उपस्थित भएका थिए ।