गजलगो मिलन बान्तवालाई पहिलो रामप्रकाश राई स्मृति लालिमा पुरस्कार प्रदान गरिने
झापा/दार्जिलिङका प्रखर कवि तथा गजलगो मिलन बान्तवालाई पहिलो रामप्रकाश राई स्मृति लालिमा पुरस्कार प्रदान गरिने भएको छ।
उक्त पुरस्कार साहित्यिक संस्था लालिमा परिवार,अलगढाद्वारा प्रदान गरिनेछ। लालिमा परिवार नेपाली गजल विधालाई केन्द्रमा राखी नेपाली साहित्यको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा सक्रिय संस्था हो। यसै क्रममा गजल लेखन तथा गजल क्षेत्रमा निरन्तर सक्रिय रही उल्लेखनीय योगदान पुर्याउँदै आएका गजलकारहरूलाई संस्थाले सम्मान गर्दै आएको छ।
गत वर्षसम्म ‘लालिमा सम्मान’ प्रदान गर्दै आएको संस्थाले यस वर्षदेखि रामप्रकाश राई स्मृति लालिमा पुरस्कार आरम्भ गरेको हो। उक्त पुरस्कार लालिमा परिवारद्वारा प्रकाशित गजलप्रधान पत्रिका “लालिमा” को दसौँ अङ्कको विमोचन समारोहका अवसरमा आगामी जनवरी महिनामा लालिमा घर,पूर्व पैयुङमा प्रदान गरिनेछ।
“लालिमा”पत्रिकाको दसौँ अङ्क, जिल्ला प्राथमिक पाठशाला परिषद्, कालेबुङका अध्यक्ष सान्डुप लामाको आर्थिक सहयोगमा प्रकाशित हुनेछ। पुरस्कार कालेबुङका लोकप्रिय नाटककार अरुणप्रकाश राईले आफ्ना स्व पिता रामप्रकाश राईको स्मृतिमा प्रदान गरेका हुन्।

नेपाली गजल लेखनको विकास र विस्तारमा उहाँले पुर्याउनुभएको अतुलनीय योगदानको सम्मान र सम्झ्ना गर्दै लालिमा परिवारले उहाँलाई यस स्मृति पुरस्कारद्वारा सम्मान गर्न लागेको साथै उक्त कार्यक्रममा सबै साहित्यप्रेमीहरूलाई उपस्थित भई कार्यक्रमको गरिमा बढाइदिन खुल्ला निमन्त्रणा गरिएको लालिमा परिवारका सचिव अरुण साम्पाङले जानकारी दिएका छन्।