डा. अमर गिरीका कविता र निबन्ध लोकार्पण
झापा १७ पुस/प्रगतिवादी साहित्यकार डा.अमर गिरीका दुई कृति गृहजिल्ला दाङमा लोकार्पण गरिएको छ ।गिरीका ‘रातमा कलम’ कविता सङ्ग्रह र ‘समय,शब्द र संवाद’निबन्ध सङ्ग्रह विहीबार लोकार्पण गरिएको हो ।
कार्यक्रम अध्ययन मञ्च दाङ र सर्वोदय पुस्तकालयको संयुक्त आयोजनामा गरिएको थियो । सर्वोदय पुस्तकालयका अध्यक्ष सुशील गौतमको अध्यक्षता तथा वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्मा गुरुको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा कृतिमाथि समीक्षात्मक चर्चा समेत गरिएको थियो ।
विमोचित कविता सङ्ग्रहको समीक्षा डा. टीकाराम उदासीले र निबन्ध सङ्ग्रहको समीक्षा शशिधर भण्डारीले गरेका थिए । कविता सङ्ग्रहको समीक्षा गर्दै डा. उदासीले डा. गिरीका कवितामा समाज, प्रकृति, जीवन, दर्शन र वर्गसंघर्षका विषय सशक्त रूपमा समेटिएको उल्लेख गरे । उनका अनुसार गिरीका कविताले नेपाली समाजका भोगाइ र संघर्षलाई प्रतिनिधित्व गर्छन् ।
यसैगरी,निबन्ध सङ्ग्रह‘समय,शब्द र संवाद’को समीक्षा गर्दै शशिधर भण्डारीले डा.गिरीका निबन्धहरूको मूल हृदयतत्व विचारको सुस्पष्टता भएको बताए ।
डा. गिरीका यसअघि घाम छेक्ने पहाड तर पनि हामी जीवित छौँ, दु:साध्य समय, शब्दहरूका बीचमा र समय संवाद कविता सङ्गहका साथै समय, समाज र संस्कृति, समकालीन नेपाली कविताको वैचारिक परिप्रेक्ष्य, भूमण्डलीकरण र साहित्य, काव्य विमर्श, कवितामा वर्गद्वन्द्व आदि समालोचना कृति प्रकाशित छन् ।
अन्तर्ध्वनि, कलम, कविता, भृकुटी आदि पत्रिकाको सम्पादनसमेत गरेका डा. गिरीका दर्जनौं अनुसन्धानमूलक लेखहरु प्रकाशित छन् । कार्यक्रममा लेखक डा. अमर गिरीलगायतले मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण अध्ययन मञ्च दाङका संयोजक सूर्य बिसीले गरेका थिए ।