बिर्तामोडमा ‘पाँचकोरी थुँगा’ को परिचर्चा

दिलिप घिमिरे · फागुन ३, २०८२ ७:२९ PM
Cover Image for News

झापा ३फागुन /इलामका सङ्गीतकर्मी देवीप्रसाद गौतमको गीत–सङ्ग्रह ‘पाँचकोरी थुँगा’ को परिचर्चा बिर्तामोडमा आइतबार गरिएको छ। 
 

कार्यक्रम साहित्य चौतारीको सभाकक्षमा चौतारीका अध्यक्ष देवीभक्त श्रेष्ठको अध्यक्षता,सुप्रसिद्ध साहित्यकार कृष्ण धराबासीको प्रमुख आतिथ्यमा भएको थियोे । 
चौतारीका सचिव तुलसी निरौलाले सञ्चालन, सल्लाहकार विनोद खनालले स्वागत मन्तव्य तथा अध्यक्ष देवीभक्त श्रेष्ठ र सदस्य मनिषा भट्टराईले स्वागत गीत गाएर सबैलाई स्वागत गर्नुभयो । 
 प्रमुख अतिथि तथा मञ्चासिन व्यक्तिहरुबाट कृति ‘पाँचकोरी थुँगा’ लोकार्पण भएपछि साहित्यकार जयनारायण भट्टराईले कृतिकार तथा कृतिको संक्षिप्त परिचयात्मक टिप्पणी गर्नुभयो।त्यसपछि कृतिबारे आफ्नो भनाइ राख्नुभयो कृतिकार देवीप्रसाद गौतमले । 

कार्यक्रममा दुर्गा शर्मा भट्टराई,हस्त परियार,राजेन्द्र सङ्ग्रौला, चन्द्राकुमारी बराल तथा प्रमुख अतिथि कृष्ण धराबासीले शुभकामना मन्तव्य राख्नुभएको थियो
कार्यक्रममा धराबासीले‘पाँचकोरी थुँगा’ले इलामको सांस्कृतिक इतिहासमा नयाँ योगदान थपेको मुल्याङ्कन गर्नुभयाे।संगीत तथा संस्कृतिलाई नयाँ पुस्तामा पुर्नजीवन दिन सक्ने प्रयासका रूपमा पनि उहाँले कृतिको प्रशंसा गर्नुभयाे।

फोटो
इलाम जिल्लालाई नै गीत संगित मार्फत बिश्वमा चिनाउन सफल भानुभक्त मावि मंगलबारेका पूर्व प्रधानाध्यापक हुन् गौतम।इलाम जिल्ला देउमाई नगरपालिका वार्ड नं. ५ सिंगलप्पामा स्व. पिता तिलचन गौतम र स्व माता मनमाया गौतमको पुत्ररत्नको रुपमा वि.सं. २०११ साल पौष १८ गतेका दिन जन्मनु भई देउमाई नगरपालिका-४ मंगलबारेमा स्थायी घर भई हाल इलाम नगरपालिका-७ सुन्तलाबारीमा बसोबास गर्दै आउनु भएको छ।नेपाली तथा इतिहास दुई विषयमा एम.ए. सम्मको अध्ययन पुरा गरी शैक्षिक उन्नयनको लागि शिक्षण पेशामा लामो समय बिताउनु भएका देवी गौतमले बाल्यकालदेखि नै अध्ययन तथा गीत,सङ्गीत,कला साहित्य र संस्कृतिमा अत्यन्तै चाख राखि अहोरात्र खटेर यस क्षेत्रलाई उचाईसम्म पुऱ्याउने विद्धान् हुन्।

गौतमको यो पहिलो गीत–सङ्ग्रह भए पनि उहाँले २०४५ सालमै रेडियो नेपालमा ‘मन रुने सारङ्गी बज्यो’ गीत रेकर्ड गराइसक्नुभएकाे छ । उहाँकाे राष्ट्रिय तथा लोकगीतहरू रेडियो नेपालमार्फत प्रसारण भइसकेका छन्।आधुनिक, लोकधुन, धार्मिक भावना तथा राष्ट्रिय पहिचानमा आधारित उहाँकाे गीत–सङ्गीतलाई नेपाली संगीतको प्रभावकारी योगदानका रूपमा वक्ताहरूले उल्लेख गर्नुभयाे ।
एक सय गीत समेटिएको यस सङ्ग्रहमा प्रेम, प्रकृति, परम्परा, सांस्कृतिक धुन, लोक भाका तथा जीवनका विभिन्न पक्ष समेटिएका छन्।
सङ्ग्रहमा राई समुदायको ‘साकेला’ र लिम्बू समुदायको ‘केलाङ’ लयसमेत समावेश गरिएको छ, जसले पूर्वी पहाडको सांस्कृतिक विविधतालाई गीतमार्फत उजागर गरेको सहभागीहरूको भनाइ थियो। 
कार्यक्रममा स्थानीय साहित्यकार, कलाकार,पत्रकार, सङ्गीतकर्मी तथा सरोकारवालाहरूको उपस्थिति उल्लेखनीय थियो।

ट्यागहरू:
साहित्य #मन्थन
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।