आचार्यका बालकथाको समीक्षात्मक कृति र ढुंगानाको बालकविताको लोकार्पण
नेपाल बालसाहित्य समाजका अध्यक्ष तथा बाल साहित्य सर्जक विजयराज आचार्यका बालकथाहरुमा आधारित रहेर भारतको कोलकाताका सर्जक अतनुकुमार बसुले तयार पारेको समीक्षात्मक कृति र बालसाहित्य सर्जक उर्मिला ढुंगानाले लेखेको बालकविता संग्रह 'मिठा मिठा तरकारीहरु' शुक्रबार काठमाडौंमा आयोजित एक समारोहकाबीच सार्वजनिक गरिएको छ ।
दुवै कृति र कृतिका सर्जकमाथि समीक्षासहित कार्यक्रम सम्पन्न गरिएको हो ।
'विजयराज आचार्यस् स्टोरिज फर चिल्ड्रेन :अ क्रिटिकल इस्टिमेसन'मा आचार्यका अंग्रेजीमा अनुदित ४० बालकथाका कथा,तीनका पात्र,कथाका सन्देश र मर्मलाई अतनुकमार बसुले बोधगम्य शैलीमा समीक्षा तयार पारेका हुन् ।त्यस्तै ढुंगानको 'मिठा मिठा तरकारीहरु' साना बालबालिकालाई विभिन्न प्रकारका तरकारीसँग परिचित गराउने हेतुले तयार पारिएको बालकविता संग्रह हो । किताबमा ३३ थरी तरकारीबारे ३३ वटा कविता समावेश छन् ।
अर्का सर्जक माधव घिमिरे 'अटल'ले विजयराज आचार्यको कृतित्व र व्यक्तित्वमाथि प्रकाश पार्दै विजयराज आचार्य १०० भन्दा बढी बालपुस्तकका लेखक,अनुवादक,सम्पादकका साथै नेपाली बालासाहित्यको फ्याक्ट्री' भएको बताए ।
'मिठा मिठा तरकारी'बारे समीक्षात्मक टिप्पणी गर्दै नेपाल बालसाहित्य समाजका महासचिव डा.विष्णु केसीले उक्त किताबले बालबालिकालाई सधैं खाइरहने तरकारीबारे चिनाउने बताए ।
कार्यक्रमकी सभापति सर्जक सिर्जना शर्माले युद्ध र बालबालिका सम्बन्धी बहसले मानवता र शान्तिप्रतिको सोचलाई मजबुत बनाउने बताउनुभयाे।
आचार्यको कृति महेश पौड्यालले सम्पादन गर्नुभएकाे हाे भने विवेक सिर्जनशील प्रकाशनले छापेको हो। ढुंगानाको ‘मिठा मिठा तरकारीहरु’मा प्रज्ज्वल थापा मगरका चित्रहरू र अनुष्का सुवेदीको प्रकाशन रहेको छ।
दुवै कृतिको मूल्य ३५० रुपैयाँ तोकिएको छ। कार्यक्रमको सञ्चालन कवि भैरवी भूगोलले गर्नुभएकाे थियाे।