यसवर्षको लोकप्रिया पुरस्कार साहित्यकार प्रतिसरा सायमिलाई
झापा, फागुन १९ । यसवर्षको लोकप्रिया पुरस्कार साहित्यकार प्रतिसरा सायमिले पाउने भएकी छन् । सो पुरस्कार महाकवि लक्ष्मीप्रसाद देवकोटाकी दिदी साहित्यकार लोकप्रियाको नाममा वि. सं. २०४४ सालमा साहित्यकार शशी रिमालद्वारा स्थापना गरिएको हो । पुरस्कारका लागि समालोचक प्रमोद प्रधानको संयोजकत्वमा साहित्यकारहरू श्रीओम श्रेष्ठ "रोदन" र नरेन्द्रबहादुर श्रेष्ठ सदस्य रहेको सिफारिस समितिले सिफारिस गरेको थियो भने साहित्यिक पत्रकार संघको हालै बसेको बैठकले वि.सं २०८२ को लोकप्रिया पुरस्कार साहित्यकार प्रतिसरा सायमिलाई प्रदान गर्ने निर्णय गरेको हो ।
साहित्यकार सायमिका जि छकू नालिस भोँ (नेपालभाषा कवितासंग्रह), तिकिनंगु मि, प्रेशरकूकरया चिल्लाय् (नेपालभाषा कविता संग्रह), सिमाह: व मेमेगु बाखं (कथासंग्रह - अँग्रेजीबाट नेपालभाषामा अनुवाद), पाइलाहरुमै सडक (नेपालभाषाबाट नेपाली भाषामा अनुवाद), लिफ: (नेपालभाषा प्रवन्धसंग्रह), रंग दुने प्रतिसरा (नेपालभाषाका कविताहरुमा कोरिएका चित्रहरुको संगालो), नेवा: खँग्व:या पिला (सहलेखन- नेपालभाषाका विविध शव्दहरुको संगालो), गुरुवर कवि पूर्ण वैद्यज्यूको साहित्यिक भीमरथारोहणको सम्झना संगालो (सहलेखन), लुमन्तिया खुसिबालय् बाबा विभूषण (नेपालभाषाका कथाहरु - नेपालीमा अनुवाद), Towards the horizon (कुलां थिइगु कुतलय् - नेपालभाषाका कविताहरुको अँग्रेजी अनुवाद संग्रह) र लुमन्ति (सम्पादन), पूर्ण वैद्यया साहित्यिक रचना (सह सम्पादन) तथा गीति सि.डी. अल्बमहरु उनैको यादमा, तिकि - नुग:या लसय् , तिकि तिकि र स्वतिकि लगायतका कृतिहरु प्रकाशित रहेका छन् ।