‘विजय मल्ल नइ शताब्दी पुरस्कार’बाट सात जना स्रष्टाहरु सम्मानित हुने
झापा, माघ २० गते । ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’बाट सात जना स्रष्टाहरु सम्मानित हुने भएका छन् । विजय मल्लका सिर्जनात्मक योगदानको अध्ययन र विद्यावारिधि अनुसन्धानमा समर्पित भई महत्त्वपूर्ण प्राज्ञिक कार्य गरेबापत प्रदान गरिने यो पुरस्कार नेपाल तथा भारतका सात स्रष्टालाई प्रदान गरिने भएको हो । नइ एकेडेमीबाट नाटककार, आख्यानकार तथा कवि विजय मल्लको शताब्दी महोत्सवका अवसरमा ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’ प्रदान गरिने भएको र यी पुरस्कारका राशि जनही २५/२५ हजार रहेका छन् ।
‘विजय मल्ल नइ शताब्दी पुरस्कार’बाट पुरस्कृत हुने प्राज्ञहरूमा डा. रमा शिवाकोटी, डा. साधना पन्त ‘प्रतीक्षा’, डा. लेखराज खतिवडा, डा. गोपालप्रसाद गैरे, डा. भगवानचन्द्र ज्ञवाली, डा. नित्यानन्द खतिवडा र प्राडा. कृष्णराज घतानी हुनुहुन्छ । नइ एकेडेमीका कुलपति इन्दिरा प्रसाईँका अध्यक्षतामा भएको नइ एकेडेमीको बैठकले उक्त निर्णय गरेको सदस्यसचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिनुभयो ।