धिमाल भाषाको नाटक सङ्ग्रह `उज्यालो कुपी´को लोकार्पण
धिमाल भाषाका लेखक टीकालाल धमालको कृति प्रकाशित लोकार्पित भएको छ । बेलबारिको प्रथम जाति धिमाल भाषामा लेखिएको नाटक 'नाङ्घाका जीवन' र 'कापाल्ता मान्थु' तथा ती दुई नाटकका नेपाली अनुवाद नाटकहरु 'ब्युँझिएको जीवन' र 'संकल्प' गरी दुई नाटकहरुको सङ्ग्रह 'फाइसालाम्का गेसा' (उज्यालो कुपी) सार्वजनिक भएको हो ।
बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईको प्रमुख आतिथ्य तथा, वरिष्ठ साहित्यकार तथा पूर्व सांसद हर्कमान तामाङ लगायतले पुस्तकको लोकार्पण गरिएको कार्यक्रम धिमाल जाति विकास केन्द्र बेलबारीका नगर अध्यक्ष शिवनाथ धिमालको अध्यक्षतामा सम्पन्न भएको थियो । बेलबारी साहित्य विकास समितिका अध्यक्ष रमेश निरौलाको सञ्चालन तथा कोषाध्यक्ष शिव पराजुलीको स्वागत मन्तव्य रहेको लोकार्पण कार्यक्रम नेपाल आदिवासी जनजाति महासङ्घ बेलबारीको सभाकक्षमा सम्पन्न भएको थियो । कार्यक्रमलाइ सम्बोधन गर्दै बेलबारीका नगर प्रमुख राईले अल्पसङ्ख्यक समुदायले आफ्नो भाषामा साहित्य सिर्जना गर्नु, कृति प्रकाशन गर्नु भनेको नाफा हुन्छ कि घाटा हुन्छ भन्ने कुरा होइन, बरु आफ्नो भाषा-साहित्य अन्य विकसित भाषा-संस्कृतिहरूसँगसँगै दौडाउन सकियो कि सकिएन भन्ने कुरा बढी महत्त्वपूर्ण रहेको बताए ।
विशिष्ट अतिथि तामाङले टीकालाल धिमालले आफ्नो समुदायलाई मात्र नभएर सम्पूर्ण नेपाली जातिहरूकै लागि काम गरेको र टीकालालले जस्तै नेपाली भाषा-संस्कृतिको जगेर्ना गर्न लाग्नुपर्नेमा जोड दिए । समीक्षक साहित्यकार ईरानराईले भाषिक तथा सांस्कृतिक अतिक्रमण भइरहेको अवस्थामा नाटकसङ्ग्रहले आफ्नै संस्कृति र परम्परामा भएका अनपयुक्त पक्षलाई हटाउँदै असल पक्षहरूलाई अझ विकसित रूपमा निरन्तरता दिनुपर्ने बताए । समीक्षक साहित्यकार केशु विरहीले नाटकसङ्ग्रहले धिमाल र नेपाली भाषाको नाट्यक्षेत्रलाई अगाडि बढाउनुपर्ने बताए ।
धिमाल जाति विकास केन्द्रका केन्द्रीय सल्लाहकार कृष्णबहादुर धिमालले बेलबारी क्षेत्रकाे धिमाल भाषा पूर्वको भन्दा बढी मौलिक रहेको बताए । बेलबारी प्रज्ञा-प्रतिष्ठान, बेलबारीकी अध्यक्ष रेखा सुवेदीले मातृभाषाहरूको संरक्षण र साहित्यिक विकासका लागि प्रतिष्ठान सदैव तयार रहेको बताइन् ।
कार्यक्रममा वडाध्यक्ष योगेन्द्र सुवेदी, समाजसेवीहरू प्रतापकुमार थापा, छत्र लिम्बू, केदार धिमाल, रुक्मिणी धिमाल, फणीन्द्रप्रसाद निरौला तथा साहित्यकारहरू दीप मङ्ग्राती, पुरन याखा, जेबी थुलुङ, कृष्ण गुरुङ, प्रेम गुरुङ, तीर्थराज सिग्देल, अजित धिमाल आदिको उपस्थित रहेको थियो ।