दिवङ्गत प्रा.डा. बाबुराम शर्मा पोख्रेलका दुई कृति विमोचन

खगिन्द्रा खुसी · पौष २०, २०८२ ८:३३ AM
Cover Image for News

झापा, पुस २० गते । शनिबार राजधानीमा सम्पन्न एक कार्यक्रममा एक स्रष्टाका दुई कृति विमोचन भएका छन् । दिवङ्गत प्रा.डा. बाबुराम शर्मा पोख्रेलका ‘हिमवत्खण्डको समीक्षात्मक अध्ययन’ र ‘स्तुति पुष्पाञ्जली’ सार्वजनिक भएका हुन् । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष एवं त्रिभुवन विश्वविद्यालयका पुराण विभागका संस्थापक डा पोख्रेलको निधनको ११ वर्षपछि उहाँका छोरा पूर्वप्रहरी महानिरीक्षक एवं वरिष्ठ चिकित्सक दिनेशचन्द्र पोख्रेलले पुस्तक प्रकाशन गर्नुभएको हो ।  कार्यक्रममा वरिष्ठ समालोचक एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति प्रा.डा. वासुदेव त्रिपाठी, प्रा.डा. विद्यानाथ उपाध्याय, प्रा.डा. जीवेन्द्रदेव गिरी र प्रा. नीलमणि ढुङ्गाना, प्रा. केदार न्यौपाने र डा. दिनेशचन्द्र पोख्रेलले संयुक्त रूपमा पुस्तकको विमोचन गर्नुभएको हो । 

डा. पोख्रेलले पिएचडी गर्दाको विषयलाई संस्कृतमा लेख्नुभएको उक्त अनुसन्धानलाई प्रा. नीलमणि ढुङ्गानाले नेपाली भाषामा अनुवाद गरी उक्त पुस्तक प्रकाशित गरिएको हो । पुराणहरूमध्ये स्कन्द पुराणमा ८१ हजार स्लोक रहेका र त्यसको उपपुराणमा ५० खण्ड रहेकामध्ये एक खण्ड हिमवत्खण्ड रहेको ढुङ्गानाले बताउनुभयो ।  वरिष्ठ समालोचक प्रा.डा. त्रिपाठीले नेपालमा पुराणका प्रवर्तक नै प्राडा पोख्रेल रहेको उल्लेख गर्दै हिमवत्खण्डमा मूल रूपमा नेपाल खण्ड पाइने बताउनुभयो । प्राडा उपाध्यायले पुराणको शिक्षाले जीवनजगत् अगाडि बढाउन र मार्गदर्शन गर्न मद्दत मिल्ने भन्दै प्राडा पोख्रेल पुराण इतिहासको स्तम्भ भएको बताउनुभयो । साथै स्तुति पुष्पाञ्जलीले स्तुति गर्न सिकाउने उहाँको भनाइ छ ।

वक्ताहरू प्रा.डा. गिरी, प्रा न्यौपानेले यो पुस्तकले प्राचीन विषयको अध्ययन गर्न चाहनेहरूका लागि महत्वपूर्ण दस्ताबेज रहेको उल्लेख गर्नुभयो । तत्कालीन केपी शर्मा ओली प्रधानमन्त्री भएका बेलामा हिमवत्खण्डसम्बन्धी दुईवटा सम्मेलन भएका थिए । 

पञ्चकुमारी सामाजिक गुठीको आयोजना तथा भरोसा अस्पतालको सहआयोजनामा भएको कार्यक्रममा लेखक पोख्रेलका पुत्र डा.पोख्रेलले पिताको अर्को पुस्तक आगामी वर्ष प्रकाशित गर्ने बताउनुभयो । 

ट्यागहरू:
सहित्य samachar sahitya svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।