सारस्वत रत्न पुरस्कार – २०८१ बाट जीवा लामिछाने सम्मानित
झापा, पौष २९ । वसन्त पराजुली नारायणगढ, पुस २९ गते । स्रष्टा जीवा लामिछाने सम्मानित हुनुभएको छ । रत्ननगर वाङ्गमय प्रतिष्ठानले आफ्नो दोस्रो स्थापना दिवसका अवसरमा नियात्रासङ्ग्रह ‘अक्षत अन्टार्कटिका’का लागि सारस्वत रत्न पुरस्कार – २०८१ बाट लेखक सम्मानित भएका हुन् । ३० हजार रुपियाँ नगद, प्रशंसा पत्र र दोसल्ला सहितको सो सम्मान अध्यक्ष रामबाबु घिमिरे र रत्ननगर नगरपालिकाका उपप्रमुख यादव पाठकले संयुक्त रुपमा लामिछानेलाई प्रदान गरिएको हो । १४२औँ लेखनाथ जयन्तीको समेत सन्दर्भमा सम्पन्न भएको सो कार्यक्रममा कृति विमोचन पनि गरिएको थियो ।
कार्यक्रममा बोल्दै लेखक लामिछानेले कविशिरोमणि लेखनाथ पौड्यालको कृतिमा ‘व्यङ्ग्य, विद्रोह, चिन्ता र दर्शन’ पाइने बताउनुभयो । प्रतिष्ठानले आफूलाई सम्मानित गरेकोमा उहाँले आभार पनि प्रकट गर्नुभयो । उहाँले सम्मानित भएको राशीमा दुई लाख थप गरी वाल्मीकि साहित्य सदनको अक्षयकोषमा जम्मा गर्ने घोषणा पनि गर्नुभयो भने चितवन साहित्य परिषद्का लागि पनि आफ्नी आमाको नामबाट ५० हजार रुपियाँको अक्षयकोष घोषणा गर्नुभयो । सो रकमबाट महिला लेखकलाई सम्मान गर्ने पनि उहाँले जनाउनुभयो ।