साहित्यकार निष्प्रभ सजीको‘याली’उपन्यास लोकार्पण
झापा ३ माघ/नेपाली ग्रामीण जनजीवन र फिजी टापुको डायस्पोरिक व्यथालाई एउटै त्यान्द्रोमा उनेर तयार पारिएको लेखक निष्प्रभ सजीको नयाँ उपन्यास ‘याली’ सार्वजनिक भएको छ । काठमाडौंको शिल्पी थिएटरमा शुक्रबार साहित्यकार निष्प्रभ सजीको उपन्यास ‘याली’को साहित्यकार एवम् पत्रकार नारायण वाग्ले,अमर न्यौपाने र विना थिङले एकसाथ कृतिको लोकार्पण गरेका हुन्।
कार्यक्रममा तीन वक्ताले कृतिमाथि समीक्षात्मक टिप्पणी गरेका थिए । उपन्यासले १५० वर्षको इतिहासलाई समेटेको बताए । राणाकालमा रोजगारीको सिलसिलामा नेपालबाट भारतको कलकत्ता पुगेका नेपालीलाई भारतमा तत्कालीन समयमा औपनिवेशिक शासन चलाइरहेको बेलायतले अर्को औपनिवेशिक मुलुक फिजीमा कामदारका रूपमा पुर्याउने गर्थ्यो । यही विषयको नेपालीको कथाव्यथा समेटिएकोले कृति रोचक र एतिहासिक रहेको साहित्यकार अमर न्यौपानेले बताए । ‘भाषिक हिसाबले काव्यिक र कथाको नवीनताकाले फरक स्वाद उपन्यासमा छ’ न्यौपानेले भने ।
यालीका नारी पात्रहरूको चर्चा गर्दै तिनको सौन्दर्यको बयान पुरातन रहेको लेखक बिना थिङले बताइन् । ‘अझै पनि नारीको भौतिक शरीर र हावभावको बयान यस पुस्तकभित्रको कमजोरी हो यधपि पाठकलाई आलोचनात्मक नलाग्न सक्छ’ थिङले भनिन्,‘फिजी भाषामा यालीको अर्थ हराएको, लोप भएको भन्ने हुने भएकाले पुस्तान्तरणमा नेपाली पहिचान हराएको यथार्थपरक कथावस्तुले विदेश पलायनलाई सशक्त ढङ्गले उठाएको उनको भनाइ थियो ।’
उपन्यासकार निष्प्रभ सजीले सन् २०१० मा ‘इजलासमा लाहुरे फूल’ कवितासंग्रह प्रकाशित भएपछि मात्र आफूले साहित्यिक पहिचान पाएको उनले सुनाए । ‘त्यसअघि मैले आफ्नो परिचय लुकाएको थिएँ,’ उनले भने, ‘अस्ट्रेलिया पुगेपछि पनि मैले साहित्यलाई निरन्तरता दिएँ र डार्लिङ हार्बर पछि अहिले यालीमार्फत पाठकमाझ आएको छु ।’आफ्नो १० वर्षको मेहनतले याली लेखेको बताए।कलकत्ता र फिजी पुगेर तथ्य सङ्कलन गरी उपन्यास लेखिएको उनले जानकारी दिए ।
२८४ पृष्ठको उपन्यासलाई बुकहिल प्रब्लिकेश्नले बजरमा ल्याएको हो ।