राजधानीमा नगेन्द्र न्यौपानेको‘दरबारको कानुन’ लोकार्पण
झापा, पौष १९ । काठमाडौँमा शुक्रबार एक कार्यक्रमबिच उपन्यासकार नगेन्द्र न्यौपानेको उपन्यास ‘दरबारको कानुन’ लोकार्पण गरिएको छ । ब्रदर बुक्स प्रकाशन प्रालिले प्रकाशनमा ल्याएको उपन्यासको लोकार्पण साहित्यकार प्राध्यापक पुरुषोत्तम दाहालको अध्यक्षता र प्राडा शैलेन्दुप्रकाश नेपालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि शैलेन्दुप्रकाश नेपालले नमिता–सुमिता काण्डको विषयमा आफूले धेरै पहिले कविता लेखेको र उक्त काण्डलाई प्लट बनाएर उपन्यास नै बजारमा आउनु चानचुने कुरा नभएको बताउनुभयो ।
कार्यक्रमका सभापति साहित्यकार प्राध्यापक पुरुषोत्तम दाहालले शक्तिको आडमा अहिले पनि त्यस्ता घटना भइरहेको कुरा जानकारी गराउँदै आफू पत्रकारिता पेसामा भएका कारण उक्त घटनाका विषयमा आफूले तात्कालीन समयमा धेरै नै समाचार प्रकाशित गरेको कुरा स्मरण गर्नुभयो ।
साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले डायास्पोरिक स्रष्टाले नेपाली साहित्यको समृद्धिका लागि उल्लेख्य भूमिका निर्वाह गरेको धारणा व्यक्त गर्नुभयो भने समीक्षक डा. अम्बिका अर्यालले गल्ती गर्नेले छाती फुकाएर हिँडेको र गल्ती नगर्नेले यातना खेपिरहेको तितो यथार्थ उपन्यासमा समेटिएको बताउनुभयो । त्यस्तै डा. यज्ञेश्वर निरौलाले नमिता–सुमिता काण्डमा आधारित उपन्यासमा मान्छेको क्रूरताको चित्रण गरिएको बताउनुभयो ।
कार्यक्रममा साहित्यकार लेखनाथ पोखरेल, डा. बुनु दाहाल, चलचित्र विकास बोर्डका सदस्य गणेश सुवेदी, अग्रज पत्रकार सानुकाजी श्रेष्ठ, प्रकाशक यज्ञ न्यौपाने, नारायण नेपाललगायतको उपस्थिति रहेको थियो । बद्री अधिकारीको डिजाइन र आवृत्ति छापाखानाको मुद्रण रहेको समाचार स्रष्टा राधेश्याम लेकालीबाट प्राप्त भएको छ ।