"पवन आलोक नियात्रा पुरस्कार"को राशि बृद्धि गरियो
२०७७ सालमा वरिष्ठ नियात्राकार पवन आलोकको नाममा श्रीमती रेखा कँडेलले स्थापना गर्नुभएको रु २५ हजार नगद राशिको "पवन आलोक नियात्रा पुरस्कार" आगामी (पाँचौँ ) संस्करण देखि रु ५० हजार बनाइएको छ साथै प्रत्येक वर्ष प्रकाशित हुने नियात्रा कृतिमध्येबाट मूल्याङ्कन समितिको सिफारिसको आधारमा एक उत्कृष्ट कृतिलाई प्रदान गरिदै आएकोमा आउँदो संस्करणदेखि नियात्राकारले नियात्रा विधाको उन्नयनमा पुर्याएको योगदानको आधारमा प्रदान गरिने भएको छ । नियात्रा समाज नेपालको व्यवस्थापनमा सञ्चालन हुँदै आएको उक्त पुरस्कार संस्थापक श्रीमती रेखा कँडेल र नियात्रा समाज नेपालका अध्यक्ष श्री मोहन चापागाईंले आज मिति २०८२ पुष २५ गते पुरस्कार संञ्चालनको संशोधित विनियमावलीमा हस्ताक्षर गर्नुभएको छ । वरिष्ठ नियात्राकार पवन आलोक, साहित्यकार राधेश्याम लेकाली तथा नियात्रा समाज नेपालकी महासचिव भवानी खतिवडाको उपस्थितिमा पुरस्कार सञ्चालन विनियमावलीमा हस्ताक्षर भएको थियो । स्मरण रहोस्, यस पवन आलोक नियात्रा पुरस्कार-२०७७ 'हिमाल शेर्पा र यती' नियात्रा कृतिका लागि नियात्राकार भीष्म उप्रेतीलाई प्रदान गरिएको थियो । दोस्रो संस्करण (पवन आलोक नियात्रा पुरस्कार-२०७८) 'ग्रीष्मको नीलो बतास' नियात्रा कृतिका लागि नियात्राकार डा दामोदर पुडासैनी किशोरलाई, तेस्रो संस्करण(पवन आलोक नियात्रा पुरस्कार-२०७९ ) 'मिसर' नियात्रा कृतिका लागि इल्या भट्टराईलाई र चौथो संस्करण (पवन आलोक नियात्रा पुरस्कार-२०८० ) 'गंगचुलीको हिउँ' नामक नियात्रा कृतिका लागि नियात्राकार तेजप्रकाश श्रेष्ठलाई प्रदान गरिएको थियो । आगामी संस्करणबाट यस पुरस्कारलाई 'पवन आलोक नियात्रा सम्मान'को रूपमा एक जना स्रष्टालाई प्रदान गर्ने निर्णय भएको कुरा नियात्रा समाज नेपालकी महासचिव भवानी खतिवडाले जानकारी दिनुभएको छ ।