पासाङदोर्जे लामा मोक्तानको ‘ताम्बा ह्रिमठिम’पुस्तक सार्वजनिक
झापा, पुस १७ गते । मंगलबार काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा पासाङदोर्जे लामा मोक्तानद्वारा लिखित ‘ताम्बा ह्रिमठिम’पुस्तक सार्वजनिक भएको छ । ताम्बा बिना तामाङ समुदायको इतिहास अधूरो रहने र सांस्कृतिक कार्यले पूर्णता नपाउने मान्यतालाई लिपिबद्ध गर्ने उद्देश्यसहित ताम्बा अध्येता लामाले सो पुस्तक लेखिएको कुरा लेखकले बताएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि मानवशास्त्री डा.मुक्तसिंह थोकरले तामाङको शास्त्रीय भाषा, पुर्खाले रचना गरेका दर्शन र विचार पुस्तकमा समेटिएको उल्लेख गर्दै भविष्यमा बोन्बो र लामासम्बन्धी विषय पनि जोडिनुपर्ने सुझाव दिनुभयो ।
उहाँले,‘तामाङ समुदायको विवाह संस्कारका महत्वपूर्ण अध्यायमध्ये ‘चारतम’ संस्कार र विभिन्न संस्कारमा गाइने गीतबारे पनि पुस्तकमा चर्चा गरिएको छ ।’ भन्नुभयो । पुस्तक समीक्षक नवीन मोक्तानका अनुसार पुस्तकले मुख्य गरी तीन विषयमा जोड दिएको छ-विवाहमा गरिने चारतम, साङसेरगेम नगरी कुनै कर्मकाण्ड नगर्नु, तथा ह्रुइका विषयलाई लिपिबद्धरूपमा प्रस्तुत गर्नु रहेको छ ।
तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङले चारतम संस्कारमा खस भाषा प्रयोग हुन थालेकाले पुर्खाले नबुझ्ने अवस्था सिर्जना भएको भन्दै ताम्बा परम्परा जोगाउन मोक्तानको योगदान महत्वपूर्ण रहेको बताउनुभयो ।
विगत तीन दशकदेखि खोज, अध्ययन, अनुसन्धान र अभ्यासमा संलग्न मोक्तानले पुस्तान्तरण हुँदै आएको ताम्बा परम्परालाई केही बाध्यता, रहर र विवशताबिच जोगाउँदै आएको आफ्ना अनुभव पुस्तकमा समेटिएको बताउनुभयो । ‘चावाई बोन, चवाईसिङ्गे लामा र चवाईसिंह’का कारण ताम्बा परम्परा जोगिरहे पनि अझै स्पष्ट दिशामा अघि बढ्न नसकेको उहाँको भनाइ थियो ।
पुस्तक तामाङ समुदायको साझा सम्पत्ति भएकाले समीक्षकको सुझावअनुसार आगामी संस्करणमा थप परिस्कृत गरिने उहाँको भनाइ छ । लेखक खोजराज गोलेद्वारा सम्पादित पुस्तक ताम्बा ज्ञान अध्ययन प्रतिष्ठान नेपालले प्रकाशन गरेको हो ।