नन्दु उप्रेतीको 'चीन यात्राका यादहरु' नियात्रा सङ्ग्रह सार्वजनिक
झापा, फागुन १२ । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा नन्दु उप्रेतीको 'चीन यात्राका यादहरु' नियात्रा सङ्ग्रह सार्वजनिक भएको छ । यसअघि नियात्राकार ‘फेवादेखि विवासम्म’ र ‘कालापानी यात्रा’ प्रकाशित गरिसकेका नियात्राकार उप्रेतीको तेस्रो नियात्रासङ्ग्रहका रुपमा सो कृति प्रकाशित भएको हो ।
नियात्रा कृतिमा लेखकले जनवादी गणतन्त्र चीनको भ्रमणका सिलसिला समेटिएका छन् । फ्रेन्ड्स अन दी क्लाउड्स प्लेटफर्म अफ इन्फ्लुएन्सर्स, नेपालद्वारा प्रकाशित सो कृतिमा पेइचिङ, साङ्घाई र छङ्तु भ्रमणका सन्दर्भलाई मिहिन ढङ्गले प्रस्तुत गरिएको छ ।
नियात्रासङ्ग्रहमा २० वटा नियात्रा सङ्गृहीत छन् । लेखक उप्रेतीले आफ्नो यात्रालाई सम्झना, कल्पना र यथार्थको त्रिकोणात्मक घुलन गरी अत्यन्त पठनीय बनाएको टिप्पणी प्राडा कार्कीले गर्नुभएको सो कार्यक्रममा प्राडा गोविन्दमानसिंह कार्कीले पुस्तक समीक्षा गर्दै ‘चीन यात्राका यादहरू’ सङ्ग्रहले चीनको ऐतिहासिक, सांस्कृतिक, राजनीतिक, पर्यटकीय, भौगोलिक जानकारी प्रस्तुत गर्ने बताउनुभयो ।
संस्थाका अध्यक्ष शोभित उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नियात्राकार उप्रेतीले आफूले चीनको यात्रामा देखेबुझेका जानकारीलाई नेपाली पाठकसामु प्रस्तुत गर्ने प्रयास गरेको चर्चा गर्नुभयो ।