लीलबहादुर क्षेत्री पुरस्कार' सिक्किमका थिरुप्रसाद नेपाललाई प्रदान
झापा १९ फागुन /तेस्रो 'लीलबहादुर क्षेत्री पुरस्कार' नाम्ची सिक्किमका वरिष्ठ आख्यानकार थिरुप्रसाद नेपाललाई आइतबार प्रदान गरिएको छ।
नेपाली साहित्यका प्रख्यात आख्यानकार,भारत सरकारद्वारा पद्मश्री सम्मानले सम्मानित असमका लीलबहादुर क्षेत्रीको नाउँमा स्थापित 'लीलबहादुर क्षेत्री फाउन्डेसन'ले विगत तीन वर्षदेखि 'लीलबहादुर क्षेत्री पुरस्कार' नाउँको एक पुरस्कार प्रदान गर्दै आएको छ।
नेपाली आख्यान साहित्यमा विशिष्ट योगदान पुर्याउने आख्यानकार अथवा कुनै उत्कृष्ट कृतिलाई यो पुरस्कारले सम्मानित गरेको देखिन्छ। सन् २०२४ देखि थालिएको यो पुरस्कार प्राप्त गर्ने पहिलो आख्यानकार थिए 'रिमाननी घाटका कथाकार'का रूपमे चिनिने तेजपुर असमका कथाकार खड्गबहादुर कौशिक। दोस्रो वर्ष सन् २०२५ मा डुवर्सेली कवि तथा कथाकार अबीर खालिङलाई यस पुरस्कारले सम्मानित गरिएको थियो। सन् २०२६ को यो पुरस्कारका लागि सिक्किम नाम्चीका वरिष्ठ कथाकार थिरूप्रसाद नेपाललाई प्रदान गरिएको हो।
गुवाहाटीको शङ्करदेव कला क्षेत्रमा आयोजित लीलबहादुर क्षत्रीको ९४ औँ जन्म जयन्तीको भव्य कार्यक्रममा नगद राशी,अङ्गवस्त्र र मानपत्रले नेपाललाई सम्मान गरिएको आयोजकबाट जानकारी प्राप्त भएको छ।
पुरस्कृत कथाकार नेपालको जन्म ११ मे १९५७ मा सिक्किमको नाम्चीमा भएको हो। नेपालले अहिलेसम्म नेपाली साहित्यलाई आठवटा नेपाली कथा सङ्ग्रह र दुइटा कविता सङ्ग्रह उपहार दिएका छन्।
कार्यक्रममा लील बहादुर क्षेत्रीको स्मृतिग्रन्थ-‘लीलबहादुर क्षेत्री- व्यक्ति एक स्मृति अनेक’पुस्तक विमोचन गरियो।