कवि रवि गिरीको 'शान्तिको खोज' विमोचन
पौष ४, झापा । बाँकेमा भएको एक साहित्यिक कार्यक्रममा कवितासङ्ग्रह 'शान्तिको खोज' विमोचन भएको छ । कवि रवि गिरीद्वारा रचित कविताहरुको सङ्ग्रह शान्तिको खोजको विमोचन मदन पुरस्कार विजेता साहित्यकार युवराज नयाँघरे, पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष डा. पुष्कर रिजाल तथा प्राज्ञद्वय महानन्द ढकाल र शशिराम कार्कीले संयुक्त गर्नुभएको थियो । स्रष्टा सागर गैरेले पुस्तक र कविको परिचय गराउनु भएको उक्त कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि नयाँघरेले कोहलपुर क्षेत्र साहित्यिक गतिविधिको उर्वर भूमि बनेको उल्लेख गर्नुभयो भने नयाँ स्रष्टालाई राष्ट्रियस्तरमा चिनाउन पूर्णिमा साहित्य प्रतिष्ठानले उल्लेखनीय भूमिका खेल्दै आएको कुरा उल्लेख गर्नुभयो । लुम्बिनी र कर्णाली क्षेत्र भाषा, साहित्य तथा लोकसंस्कृतिको अपार भण्डार भए पनि त्यसमा अझै धेरै काम गर्न बाँकी रहेको समेत बताउनुभयो । कार्यक्रममा पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष डा. रिजालले नयाँघरेका निबन्ध मौलिक, प्रयोगशील, सरल र विशिष्ट रहेको बताउनुभयो । उहाँले नयाँघरेका रचनामा भाषिक कौशल र नेपाली जातीयताको सम्मोहक सौन्दर्य पाइने उल्लेख गर्नुभयो ।