काठमाडौँमा स्थलगत कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न
२४ मंसिर, झापा । काठमाडौँमा उपत्यकाव्यापी माध्यमिक विद्यालयस्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएको छ । प्रभात माध्यमिक विद्यालय तथा ब्रह्मानन्द चन्द्रमाया वैद्य स्मृति कोषद्वारा आयोजित सो कार्यक्रम प्रभात माध्यमिक विद्यालयको हीरक जयन्तीको अवसरमा सम्पन्न भएको हो । प्रतियोगितामा वाचनका लागि चयन भएका १४ बाल कविहरुले रचना वाचन गरेका थिए ।
कर्यक्रमका प्रमुख अतिथि कला, सङ्गीत अन्वेषक तथा साहित्यकार प्रकाश सायमीले मन्तव्यका क्रममा बालबालिका नै भोलिका सशक्त कवि तथा कलाकार हुने भएकाले यस्ता कार्यक्रमले प्रतिभाको खोजि तथा जगेर्ना गर्छ भन्ने धारणा गर्नुभएको थियो ।

साहित्यकार डा. गीता त्रिपाठीले बालकालिकालाई सिर्जनशील कार्यमा लगाइरहन अतिरिक्त क्रियाकलापको आवश्यकतामा जोड दिनुभयो । निर्णायक मण्डलका सदस्य साहित्यकार डा. छायादत्त न्यौपानेले प्रतियोगी बाल सर्जकमा सिर्जनाको प्रचुर सम्भावना छ भन्नुभयो भने अर्का सदस्य कवि शान्ति सापकोटाले सिर्जनात्मक लेखनलाई विद्यालय तथा परिवारले उचित वातावरण दिनुपर्ने विचार व्यक्त गर्नुभयो ।
प्रतियोगितामा सरस्वती निकेतन माविका छात्र विपिन्द्र तोलाङ्गी प्रथम, पञ्चकन्या माविकी छात्रा सन्ध्या थापा द्वितीय र शान्ति विद्यागृहकी छात्रा प्रेमकला परियार तृतीय भएका थिए भने नेपाल युवक माविकी छात्रा कुशुम हुमागाईं र जुद्धोदय माविकी छात्रा स्वस्तिका लामाले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।