कथाकार रासाको ‘कहर वृत्त’ कथासङ्ग्रह सार्वजनिक
झापा २६ पुस/कथाकार रासाको पहिलो नेपाली भाषामा लेखिएको ‘कहर वृत्त’ कथासङ्ग्रह विमोचन गरिएको छ ।
काठमाडौँमा ‘कहर वृत्त’ कथासङ्ग्रहको विमोचन मञ्चासिन नौजना साहित्यकारहरूबाट सुसम्पन्न गरिएको थियो । नौजनामा कार्यक्रमका प्रमुख अतिथि कवि/कथाकार शैलेन्द्र साकार, अतिथिहरू कवि/निबन्धकार श्यामल, कवि/कथाकार किशोर पहाडी, कवि/कथाकार राजव, कवि/कथाकार अविनाश श्रेष्ठ, समालोचक प्रा.डा. भरतकुमार भट्टराई, कवि/कलाकार नरेन्द्रबहादुर श्रेष्ठ, कवि/कथाकार रासा र कार्यक्रमका सभापति कवि/कथाकार नारायण तिवारी रहेका थिए ।
स्मरणीय के छ भने रासा आफ्नो मातृभाषा नेपालभाषामा पनि लेख्छन् ।
कार्यक्रममा रासाका जीवनसाथी मङ्गला र छोरी लचनासहित नेपाली र नेपाल भाषाका प्रख्यात कथाकारहरूको उपस्थिति थियो।
श्यामलले रासाको ‘कहर वृत्त’ कथामा विभिन्न पाश्चात्य साहित्यकारहरूको नाम समेत रहेको उल्लेख गर्दै रासाको अध्ययनशीलताबारे कोट्याएका थिए ।
यसैगरी समालोचक व्यक्तित्व प्रा.डा.भरतकुमार भट्टराईले रासाको कथालेखनलाई विश्लेषण गर्दै उत्तरआधुनिकताले सजिएको लेखन शैली छोटाछोटा र कवितात्मक रहेको तर यथार्थपरक र वास्तविक पात्रहरूबारे लेख्दा कल्पनाशीलता हुनुपर्ने तर्फ उनले कथाकारको ध्यान आकृष्ट गराए ।
कार्यक्रमलाई सञ्चालन गरेका थिए कवि/कथाकार दिव्य गिरीले । कार्यक्रममा श्रोता दीर्घामा समेत महत्वपूर्ण साहित्यिक व्यक्तित्वहरूको उपस्थितिले कार्यक्रमको गरिमा बढाएको थियो ।