२०२५को अन्तिम साँझ'पोएट्री विथ द लाट्टे’ सँग झुम्यो दमक
झापा, पौष १७ — अङ्ग्रेजीको नयाँ वर्ष २०२६ को अघिल्लो साँझ गायक तथा कविहरुले दमकको द लाट्टे आर्ट साङ्गीतिक तथा काव्यमय बनाए । 'पोएट्री विथ द लाट्टे’ नाम दिइएको सो कार्यक्रममा सारंगीको धुन, कविताको सुर र कफीको मिश्रित स्वाद पाइएको थियो । अग्रज कवि प्रकाश बुढाथोकी, देशु बनेम, हेमन यात्री, अज्ञात दधि, सुमन स्मारिका र सपना लिम्बुले १० कविता र चार गजल वाचन पस्किएका थिए । कार्यक्रममा कविहरुका कवितालाई सारंगी, मादल र बाँसुरीको सुरले रंग भरेका थिए ।
चुलाचुली तारा युसन राई र रोमन विश्वाले गीतमार्फत माहोल तताएका थिए । शिव गन्धर्व र सुजन गन्धर्वको सारंगीको सुरिलो धुनले कविता र संगीतबीच सेतुको काम गरिरह्यो ।
नेपाल लिटरेरी ग्रुप दमक र किरात मुन्धुम प्रतिष्ठानको सहकार्यमा आयोजित कार्यक्रममा स्थानीय कवि तथा साहित्यप्रेमीको उल्लेखनीय उपस्थिति थियो । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य प्राज्ञ मुनाराज शेर्मा, कवि विराट किराती, साङसेन पन्धाक, केपी घिमिरे, पुरन याक्खा, निहाङ किराती, रुमानी कुलुङ, दिलीप राई ‘सगर’, युगयोगी राई, जय मोक्तान, चन्द्र सम्फाहाम्फे, चोमु शेर्पा, उत्तम तुम्सा लगायतले कार्यक्रमलाई साहित्यिक गरिमा प्रदान गरे ।