जापानमा “टोकियो कविता कन्सर्ट–२०२६” सम्पन्न

खगिन्द्रा खुसी · पौष २८, २०८२ ९:०३ PM
Cover Image for News

झापा, पौष २८ । जापानमा “टोकियो कविता कन्सर्ट–२०२६” सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानले हरेक दुई वर्षमा आयोजना गर्दै आएको कविता कन्सर्टको यो तेस्रो शृङ्खला हो । अनेसास जापानको ७९ औँ नियमित साहित्यिक शृङ्खला समेत रहेको उक्त कार्यक्रम टोकियोस्थित ओकुबो स्टेसन नजिकै रहेको ‘नेवा डाइनिङ काठमाडौँ लञ्च एण्ड बार’ मा सम्पन्न भएको हो।

FB_IMG_1768230941847.jpg 260.43 KB
उक्त कविता कन्सर्टमा जापानमा रहेर नेपाली कवितामा सक्रिय पाँच जना कविहरू—आदि पुरुष, बलराम उपाध्याय, सविता भण्डारी, सुविन न्यौपाने ‘कान्जीभाइ’ र डी. जी. शर्मा—का तीन दर्जनभन्दा बढी कविता वाचन गरिएका थिए। प्रस्तुत कविताहरूमा देशप्रेम, प्रेम–सम्बन्ध, प्रवासजन्य दुःख–पीडा, सामाजिक विकृति–विसङ्गति लगायतका विषयहरू सशक्त रूपमा अभिव्यक्त भएका थिए।

अनेसास बोर्ड अफ ट्रस्टीका उपसभापति विष्णुप्रसाद घिमिरेको प्रमुख आतिथ्य तथा अनेसास जापानका अध्यक्ष आनन्द अधिकारीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा अतिथि कविहरूलाई पारिश्रमिकसहित सम्मान–पत्र प्रदान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि घिमिरे, अनेसास जापानका सल्लाहकार हारुहितो नोजू, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जापानका अध्यक्ष समुद्रराज पौडेल, नेपाल पत्रकार महासङ्घ जापान शाखाका सचिव अर्जुन लामिछाने लगायतले मन्तव्य राख्दै जापानमा हुर्कँदै गएको दोस्रो पुस्तामा नेपाली भाषा–साहित्यप्रतिको मोह र देशप्रेम जगाउन यस्ता साहित्यिक कार्यक्रमको निरन्तरता आवश्यक रहेको धारणा व्यक्त गर्नुभयाे ।

photo
समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष आनन्द अधिकारीले आफ्नो कार्यकालको पहिलो कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि अनेसास जापान यस्तै सिर्जनात्मक गतिविधिमा सक्रिय रहने विश्वास दिलाउनुभयाे ।

उक्त अवसरमा अनेसास जापानको कार्यक्रममा पहिलो पटक सहभागी भएका केही साहित्य अनुरागीहरूलाई समेत सम्मान गरिएको थियो। आम पाठकमाझ नेपाली साहित्यप्रति रुचि अभिवृद्धि गर्न र पाठकको उपस्थितिलाई सम्मान गर्न यस्तो अभ्यास सुरु गरिएको र यसलाई निरन्तरता दिइने अनेसास जापानका महासचिव मनोज मौसम केसीले जानकारी दिनुभयाे ।

कार्यक्रममा अनेसास जापानकी उपाध्यक्ष संगीता कुँवरको स्वागत मन्तव्य रहेको थियो भने सञ्चालन महासचिव मनोज मौसम केसीले गर्नुभएको थियो। अङ्ग्रेजी नयाँ वर्ष सन् २०२६ तथा अनेसास दिवसको अवसर पारेर कविता कन्सर्ट आयोजना गरिएको समाचार स्रष्टा तथा पत्रकार डिजी शर्माबाट प्राप्त भएको छ ।

ट्यागहरू:
सहित्य literature sahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।