जापानमा स्रष्टा लालगोपाल सुवेदीको विशेष कविता वाचन कार्यक्रम सम्पन्न
झापा, फागुन १२ । जापानमा स्रष्टा लालगोपाल सुवेदीको विशेष कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापानको आयोजनामा सम्पन्न कार्यक्रममा कवि सुवेदीले एक दर्जनभन्दा बढी कविताहरू वाचन गर्नुभएको थियो। लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आउनुभएका कवि तथा गीतकार लालगोपाल सुवेदीको विशेष कविता वाचन जापानको टोकियोमा सम्पन्न भएको हो । यसअघि फेब्रुअरी १७ मा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोरियाले राजधानी सउलमा आयोजना गरेको कार्यक्रममा पनि उहाँको विशेष प्रस्तुति रहेको थियो । अनेसास केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका सुवेदीले नेपाली साहित्यलाई नोबेल पुरस्कारको स्तरसम्म पुर्याउन संस्थागत प्रयास आवश्यक रहेको उल्लेख गर्दै अबको लेखन सङ्ख्यात्मकभन्दा गुणात्मक हुनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपाली भाषा–साहित्यको क्षेत्रमा अनेसास जापानले पुर्याएको योगदानको प्रशंसा गर्दै जापान च्याप्टरलाई अनेसासको मेरुदण्ड भएको दाबी गर्नुभयो।
चार दशकभन्दा लामो समयदेखि साहित्य सिर्जनामा सक्रिय सुवेदीका डेढ दर्जनभन्दा बढी कृति प्रकाशित छन्। कार्यक्रममा कवि सुवेदीप्रति सम्मान प्रकट गर्दै अनेसास जापानका पूर्वअध्यक्ष दिनेशराज ज्ञवाली, दीप पाठक, गिरिजा गैह्रे, रबिन शर्मा तथा सल्लाहकार सविना रेग्मीले उहाँका कविता वाचन गर्नुभएकाे थियाे । साहित्यकार तथा अनेसासका पूर्व केन्द्रीय अध्यक्ष प्रकाश पौडेल ‘माइला’ले कवि सुवेदीको व्यक्तित्व र कृतित्वबारे चर्चा गर्नुभएको थियो।
कार्यक्रममा दिवङ्गत गायक प्रशान्त तामाङको सम्झनामा तस्बिरमा माल्यार्पण गरिएको थियो भने सुवेदीकै शब्द रहेको “बिछोडको करौँतीले काट्नु मनै काट्यो” गीत सामूहिक रूपमा गाएर श्रद्धाञ्जली अर्पण गरिएको थियो।
अनेसास जापानको ८०औँ नियमित साहित्यिक शृङ्खलासमेत रहेको कार्यक्रममा युको ओकामोतो, लक्ष्मी राई, मञ्जु गिरी, प्रवण पोखरेल, नविन कँडेल, पूजा अर्याल, हरिबिनोद अधिकारी, विष्णु सुवेदी ‘निशान’, दीप पाठक र सरोज घिमिरेलगायतले आफ्ना रचना वाचन गर्नुभएकाे थियाे ।
अनेसास जापानका अध्यक्ष आनन्द अधिकारीको सभापतित्व तथा सचिव विनिशा सापकोटाको सञ्चालनमा सम्पन्न कार्यक्रममा गैरआवासीय नेपाली संघ जापानका अध्यक्ष सुवास लामिछाने, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान जापानका अध्यक्ष समुद्रराज पौडेल तथा अनेसास जापानका संस्थापक अध्यक्ष डा. कुमार बस्नेतलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।
कार्यक्रम संयोजक तथा अनेसास जापानका कोषाध्यक्ष सरोज घिमिरेले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै उपस्थित सबैप्रति धन्यवाद व्यक्त गर्नुभएको थियो भने संस्थाका सचिव नारायण पोखरेलले स्वागत मन्तव्य राख्नुभएको समाचार जापानबाट स्रष्टा डिजी शर्माबाट प्राप्त भएको छ ।