चन्द्रागिरि साहित्य सरोवरको ५१ औँ शृङ्खला सम्पन्न
झापा, फागुन १२ गते । चन्द्रागिरि साहित्य सरोवरको ५१ औँ शृङ्खला सम्पन्न भएको छ । रचना वाचन गर्दै सम्पन्न गर्ने नियमित कार्यक्रमको नयाँ श्रृंखलाका रुपमा यो श्रृंखला सम्पन्न भएको हो । मुनाल क्लबको सभाहलमा सम्पन्न भएको सो कार्यक्रममा संस्थाका अध्यक्ष गोपीचन्द्र कार्कीको सभाध्यक्षतामा तथा साहित्यकार डा. रमेश शुभेच्छुको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा संस्थाका तर्फबाट प्रमुख अतिथि डा. शुभेच्छुलाई सम्मानपत्र प्रदान गरिएको थियो । सम्मान सभाध्यक्ष कार्कीले सम्मानित शुभेच्छुलाई हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रमको प्रारम्भमा स्वागत मन्तव्य राख्दै अध्यक्ष कार्कीले डा. शुभेच्छुका प्रवचन सर्जकका लागि उत्प्रेरक हुने भएकाले उहाँलाई प्रमुख अतिथिका रूपमा चयन गरिएको बताउनुभयो ।
हरिशरण आचार्य, जगन्नाथ तिमल्सिना, खगेन्द्र दाहाल, राजु महत, भोला चालिसे, लक्ष्मणप्रसाद बस्याल, काशीराज सुवेदी, कृष्णबहादुर बस्नेत, सरिता पराजुली र तुलसीराम भण्डारीलगायतका कविले समसामयिक विषयमा कविता वाचन गर्नुभएको कार्यक्रममा वाचित रचनामाथि समीक्षा गर्दै प्रमुख अतिथि डा. शुभेच्छुले वाचित कविता शास्त्रीय, लोक र मुक्त लयका ढाँचामा संरचित रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “विचारका दृष्टिले यी सिर्जना प्रेम–प्रणय, जीवनका भोगाइ, राष्ट्रियता र राजनीतिक चेतनाको केन्द्रमा रहेका छन् । यस्ता कार्यक्रम अनौपचारिक सिर्जना पाठशाला हुन्, जसको प्रभाव बिस्तारै समाजमा देखिँदै जान्छ ।” भन्ने धारणा ब्यक्त गर्नुभयो ।
सोही अवसरमा डा. शुभेच्छुले आफ्नो 'माछा र कमिला' शीर्षकको कविता वाचन गर्नुका साथै चन्द्रागिरि पुस्तकालयलाई केही पुस्तकसमेत उपहारस्वरूप प्रदान गर्नुभयो । काशीराज सुवेदीले सहजीकरण गर्नुभएको थियो ।