बिराटनगरमा‘जलाइएको निवास र बाँचेका विचार’ विषयमा कविता वाचन सम्पन्न
झापा, माघ २२ । बिराटनगरमा बुधबार एक साहित्यिक कार्यक्रम सम्पन्न भएको छ । नेपाली लेखक संघ मोरङको आयोजनामा सम्पन्न सो कार्यक्रममा ‘जलाइएको निवास र बाँचेका विचार’ विषयक कविता वाचन गरिएको थियो ।
कार्यक्रममा उपस्थित नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मन्तव्यका क्रममा राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई सुदृढ बनाउन सबै पक्ष एकताबद्ध हुन आवश्यक रहेको बताए भने कार्यक्रममा लेखकसमेत रहेका नेपाली कांग्रेसका युवा नेता सूर्यराज राई, प्रा.डा. हरिहर भण्डारी र साहित्यकार सीमा आभासले बीपी कोइरालासँग जोडिएको साहित्यिक पक्षमाथि चर्चा गरेका थिए ।
आयोजक समितिका अध्यक्ष दिङ्लाली कान्छोको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अग्रज साहित्यकार विराटनगर प्रज्ञा प्रतिष्ठानका अध्यक्ष विवश पोखरेल, चूडामणि नेपाल ‘अकिञ्चन’, जेनजी अर्पित कुँवरलगायतले वीपी कोइरालाले लेखेका कविता प्रस्तुत गरेका थिए ।
जेनजी आन्दोलनका क्रममा जलाइएको कोइराला निवासकै भवनमा आयोजना गरेर वीपीका विचारलाई जीवन्त राख्न कार्यक्रम आयोजना गरिएको लेखक संघ मोरङकी सचिव शुभलक्ष्मी लम्सालले जानकारी दिइन् । कार्यक्रममा लेखक, साहित्यकार, प्राध्यापकसहित बौद्धिक वर्गको उल्लेख्य उपस्थिति रहेको थियो ।