भारतबाट पहिलो नेपाली गजल एल्बम 'मतला'
झापा,माघ ४ : भारतको दार्जिलिङबाट पहिलो नेपाली गजल एल्बम 'मतला' बजारमा आएको छ । दार्जिलिङको रिदम रेकरडिङ्सले प्रस्तुत गरेको 'मतला' दार्जिलिङकै सङ्गीतकार जीवनप्रकाश प्रधानको एकल सङ्गीतमा तयार भएको हो ।
गजलकारहरू राधा कणेलका ३, रश्मि असफल र घनेन्द्र ओझाका २/२ वटा गजलहरू समेटिएको 'मतला'मा दार्जिलिङका ३ र नेपालका २ गायक, गायिकाले स्वर दिएका छन् । एल्बममा दार्जिलिङका रजनी ऋदम राई, इस्माइल दास र सृष्टि आचार्य प्रधान तथा नेपालका शिव परियार र निशा देशारले स्वर दिएका छन् ।

श्रेष्ठले भने, 'सङ्गीतको भाषा, भूगोल हुँदैन । व्यक्तिको संवेदना छुने हरेक सङ्गीत विश्वव्यापी बन्छ ।' उनले यस एल्बमले नेपाली गजल गायनलाई अन्तर्राष्ट्रियकरण गरेको पनि बताए ।
अर्का समीक्षक गजलकार, गीतकार एवं सङ्गीतकार करुण थापाले गजलले सङ्गीतको श्वास पाएपछि मात्र जीवन्त बन्ने धारणा राखे । थापाले 'मतला' एल्बममा समावेश गजलहरू शब्द, सङ्गीत र गायन तीनै कोणबाट सशक्त रहेका बताए ।
गजलकार राधा कणेलले 'मतला' रेकर्ड गर्दाका सन्दर्भ जोड्दै सङ्गीतकार प्रधान परिष्कृत साधक रहेका र अत्यन्त मिहिनेतपूर्वक एल्बम तयार भएको बताइन् । रश्मि असफलले २० वर्षभन्दा लामो समयदेखि गजल लेखिरहे पनि सङ्गीतमा भर्खरै आउन थालेको सुनाइन् । असफलले आफू परिष्कृत गजल लेखनका लागि अभ्यासरत रहेको सुनाइन् ।
गत २७ पुसमा असफलकै शब्दमा सन्तोष श्रेष्ठले कोशी प्रदेशको झापामा एकल गजल गायन 'रश्मि गजल गुञ्जन' सम्पन्न गरेको जानकारी पनि उनले दिइन् ।
गजलकार एवं गजल अभियन्ता घनेन्द्र ओझाले सङ्गीतकार सन्तोष श्रेष्ठ र आफूले घोषणा गरेको 'नेपाली गजल गायनको स्वर्ण दशक, वि. सं. २०८०-२०९०' अभियानले देशको सीमा नाघिसकेको भन्दै यस अभियानमा सबैलाई जोडिन अनुरोध गरे । 'अब हामी भारतसम्म पुगिसकेका छौँ', ओझाले भने, 'भारतबाट पनि पहिलो नेपाली गजल एल्बमका रूपमा मतला आइसकेको छ । अरू धेरै यस्ता एल्बम आउने विश्वास छ ।'
सङ्गीतकार प्रधानले आफू ४० वर्षदेखि सङ्गीतमा समर्पित भए पनि सधैँ विद्यार्थी जस्तै भएको भन्दै निरन्तर साधनाले गजल सङ्गीततर्फ मोडेको सुनाए । प्रधानले 'मतला' गजलको शुभारम्भ शेर भएजस्तै यो एल्बम पनि आफ्नो गजल सङ्गीतको शुभारम्भ भएको बताए ।
प्रमुख अतिथि प्रा. डा. कृष्णहरि बरालले 'मतला'ले नेपाली गजल सङ्गीतका क्षेत्रमा विशेष अर्थ र महत्त्व राख्ने बताए । शब्द र सङ्गीतको उपयुक्त संयोजन अनि स्वरको सही छनोटले गजल उत्कृष्ट बन्ने भन्दै बरालले 'मतला'भित्रका गजलमा यी विशेषता रहेका सुनाए । बरालले गजल सङ्गीतका विविध शैली र तरिका हुने बताए । नेपालमा गजल सङ्गीत र गायन नेपाली माटो, भाषा, बाजा, उपकरण र नेपालीपनअनुसारकै हुने सुनाए । भारत वा अन्य देशका सङ्गीत र गायनका शैली नेपालमा खोजिनु उपयुक्त नहुने बरालको धारणा थियो ।
अनाममण्डलीले आयोजना गरेको कार्यक्रमलाई लभ एन्ड सपोर्ट फाउन्डेसन, नेपालले व्यवस्थापनमा सहयोग गरेको थियो । कार्यक्रमको सभापतित्व अनाममण्डलीका अध्यक्ष रूपक अलङ्कारले गरेका थिए भने सहजीकरण ज्ञानु विद्रोहीले गरेका थिए ।