अनुष्का सिलवालको'द बर्डन अफ ब्रेथ'लोकार्पण
झापा, पुष १ । काठमाडौँमा सम्पन्न भएको एक विशेष कार्यक्रमका बीच स्रष्टा अनुष्का सिलवालको पहिलो किवता सङ्ग्रह 'द बर्डन अफ ब्रेथ'लोकार्पण भएको छ । इन्डियाना विश्वविद्यालयको केली स्कूल अफ बिजनेसबाट मार्केटिङमा स्नातक तथा मनोविज्ञानमा पनि स्नातक गरेकी २४ वर्षीया सिलवालले लेख तथा निबन्धहरु प्रकाशित गर्दै आएकी थिइन् । ११७ वटा कविता समेटिएको यस सङ्ग्रहमा प्रेम, पहिचान र मानव अस्तित्व जस्ता विषयहरुलाई आत्मपरक ढङ्गले प्रस्तुत गरेकी छन् । प्रख्यात साहित्यकार प्रा. गोविन्दराज भट्टराई र मण्डला बुक प्वाइन्टका माधव एल. महर्जनद्वारा संयुक्त रूपमा पुस्तकको विमोचन गरिएको थियो भने उहाँहरुले सिलवालको काव्यिक सूक्ष्मता र अव्यक्त भावनाहरूलाई शब्दमा उतार्ने क्षमतालाई प्रशंसा गरेका थिए । कार्यक्रममा बोल्दै सिलवालले आफ्नो सिर्जनात्मक यात्रामा साथ दिने गुरु, शिक्षक र परिवारजनप्रति गहिरो कृतज्ञता व्यक्त गरिन् । उनले पुस्तकबाट प्राप्त आम्दानीको केही हिस्सा परोपकारी कार्यमा सहयोग गर्ने प्रतिबद्धता पनि जनाइन्।