अमेरिकाका सहर–सहरमा पुग्दै ‘मनदेखि मनसम्म’
झापा, पौष २७ । अमेरिकाका विभिन्न सहर र राज्यहरूमा यात्रा गर्दै नेपाली भाषा, भावना र अनुभूतिलाई मञ्च प्रदान गर्दै आएको स्पोकन वर्ड कविता कार्यक्रम ‘मनदेखि मनसम्म’ हाल पिट्सबर्ग, पेन्सिलभानियामा सम्पन्न भएको छ। कार्यक्रमको आयोजना पेन हेल्प एडल्ट डे–केयर ले गरेको हो ।
‘मनदेखि मनसम्म’ एक काव्यिक अभिव्यक्ति कार्यक्रम हो, जसले कवितालाई केवल पाठ्य रूपमा होइन, जीवनका अनुभव, सम्झना र भावनासँग जोडेर प्रत्यक्ष रूपमा श्रोतासमक्ष प्रस्तुत गर्छ । यो कार्यक्रम स्पोकन वर्ड कविता नाइटको अवधारणामा आधारित छ, जहाँ मनबाट निस्किएको भाव मनसम्म पुर्याउने उद्देश्यसहित कविता, संगीत र आत्मीय संवाद एउटै मञ्चमा प्रस्तुत गरिन्छ । 
कार्यक्रममा साहित्य र संगीतसँगै आत्मीय संवादलाई पनि विशेष महत्त्व दिइएको थियो । पिट्सबर्ग तथा छिमेकी सहरहरूबाट आएका करिब २० जना कविहरूले कविता वाचन गरेका थिए । युवाहरूको उत्साहजनक सहभागिताले कार्यक्रमलाई थप जीवन्त बनाएको सहभागीहरूको प्रतिक्रिया थियो ।
कार्यक्रम जीबीएलओ (विश्व भूटानी साहित्यिक संगठन) को फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण भएको थियो, जसले अमेरिका तथा विश्वभरका नेपाली समुदायले यो कार्यक्रम सजिलै हेर्न सक्ने अवसर दिएको छ ।
कार्यक्रमका संयोजकले ‘मनदेखि मनसम्म’ अमेरिका भरिका नेपाली समुदायलाई जोड्ने साझा मञ्चका रूपमा विकसित हुँदै गएको बताए । उनले भने-
“प्रवासमा बस्दा भाषा, संस्कृति र भावना जोगाइराख्न यस्ता साहित्यिक कार्यक्रम अत्यन्त आवश्यक छन् । ‘मनदेखि मनसम्म’ सहर–सहर पुग्दै समुदायलाई जोड्ने प्रयास हो।”संयोजकले कविता, भावना र आत्मीय संवादमा रुची राख्ने सबैलाई भविष्यका कार्यक्रमहरूमा पनि खुलेर सहभागी हुन आह्वान गरे ।
कार्यक्रमको अन्त्यमा आयोजकहरूले आगामी दिनहरूमा पनि विभिन्न सहर र राज्यहरूमा ‘मनदेखि मनसम्म’ कार्यक्रम निरन्तर लैजाने प्रतिबद्धता व्यक्त गर्दै सहभागी कवि, दर्शक तथा सहयोगी सबैप्रति धन्यवाद ज्ञापन गरेको कुरा स्रष्टा पातलो अन्तरेले जानकारी दिनुभएको छ ।